काठमाडौं । चन्द्रागिरि नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक आस्थाको केन्द्र थानकोटको महालक्ष्मी मन्दिरको जिर्णोद्धार कार्य हुनेभएको छ । उपत्यकाको प्राचीन धार्मिक सम्पदामध्ये एक मानिने यो मन्दिरको संरक्षण तथा सौन्दर्य अभिवृद्धिका लागि १ करोड १० लाख रुपैयाँभन्दा बढी लागतमा पुनःसंरचना अघि बढाइन लागिएको हो ।
चन्द्रागिरि नगरपालिकाका प्रशासकीय प्रमुख जग्दिशचन्द्र नेपालीले सार्वजनिक खरिद प्रक्रियाअनुसार सुमार्ग कन्सट्रक्सन तथा सप्लायर्स कम्पनीले निर्माणको जिम्मा पाएको बताउनु भयो । उहाँले कम्पनीले महालक्ष्मी मन्दिरको जिर्णोद्वार १ करोड १० लाख ५० हजार ६ सय ११ रुपैयाँ ४३ पैसामा जिम्मेवारी पाएको बताउनु भयो ।



चन्द्रागिरि नगरपालिका–४ का वडा अध्यक्ष तथा नगर प्रवक्ता कृष्णप्रसाद खड्गीले जिर्णोद्धारका क्रममा मन्दिरको पुरानो झिंगटी छाना हटाएर तामाको छाना जडान गरी त्यसमा सुनौलो रङ प्रयोग गरिने जानकारी दिनुभयो । उहाँले मन्दिर परिसरभित्र रहेको ऐतिहासिक फल्चाको पुनःनिर्माण, ढुङ्गाका स्तम्भमा घण्टा जडान, आँगनमा परम्परागत डाँछी इँटा बिछ्याउनेलगायतका कार्यले मन्दिरको मौलिक सौन्दर्य थप निखारिने विश्वास गर्नुभयो ।
थानकोट महालक्ष्मी मन्दिर काठमाडौं उपत्यकाका अष्टमहालक्ष्मीमध्ये एक महत्वपूर्ण शक्तिपीठका रूपमा परिचित छ । देवी महालक्ष्मीलाई धनधान्य, अन्न, समृद्धि र सुख–शान्तिकी अष्टधात्री देवीका रूपमा पूजा गर्ने परम्परा रहेको छ । यही विश्वासका कारण वर्षभरि नै काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानबाट भक्तजन यहाँ दर्शन र पूजाआजाका लागि पुग्ने गर्छन् । मन्दिर परिसरमा रहेको वि.सं. ८०४ को शिलालेखले यसको ऐतिहासिक तथा पुरातात्विक महत्वलाई झन् स्पष्ट बनाउँछ । शिलालेखले यस क्षेत्र प्राचीनकालदेखि नै धार्मिक, सांस्कृतिक र सामाजिक गतिविधिको केन्द्रका रूपमा विकास भएको संकेत गर्दछ ।
थानकोट महालक्ष्मी मन्दिर धार्मिक आस्थाको केन्द्र मात्र नभई स्थानीय नेवार समुदायको सांस्कृतिक पहिचानसँग पनि गहिरो रूपमा जोडिएको छ । हरेक वर्ष धानबाली भित्र्याइसकेपछि यहाँ आयोजना हुने महालक्ष्मी जात्रा, स्थानीय रूपमा थानकोटको सिन्दूरजात्राका नामले प्रसिद्ध छ । जात्राका अवसरमा देवीको विशेष पूजा, परम्परागत बाजागाजा, सांस्कृतिक झाँकी तथा सिन्दूर खेल्ने चलनले थानकोट अर्था शोणिपुरबासीले महाउत्सवको रुपमा लिने गरेका छन् ।
स्थानीय तहले अघि बढाएको जिर्णोद्धार अभियानले धार्मिक सम्पदाको संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास गरिएको छ । संस्कृति तथा सम्पदा संरक्षणले यस्ता ऐतिहासिक मन्दिरहरूको जिर्णोद्धार गर्दा मौलिक वास्तुकला, परम्परागत निर्माण शैली र ऐतिहासिक विशेषतालाई जिउँदो राख्न महत्वपूर्ण भूमिका खेल्छ ।



