काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । राष्ट्रिय सभाको बैठक बिहान ११ बजेर ३१ मिनेटमा बोलाइएको छ । प्रतिनिधिसभाको बैठक भने १ बजेका लागि बोलाइएको छ ।



आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली धाएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको विवादित अभिव्यक्तिले उनी पदमा रहिरहने नैतिक आधार गुमाएको निष्कर्षका साथ एमालेले संसद् अवरुद्ध गर्दै आएको छ । प्रधानमन्त्रीले राजीनामा नदिएसम्म एमालेले दुवै सदन चल्न नदिने अडानमा छ ।
सत्ता गठबन्धन दलले भने प्रधानमन्त्रीले संसद्मा जवाफ दिनुपर्ने तर राजीनामा दिनु नपर्ने निष्कर्ष निकालिसकेको छ । गठबन्धनले प्रधानमन्त्रीको अभिव्यक्तिको बचाउ गरे पनि कांग्रेस र नेकपा एकीकृत समाजवादीकै केही नेता प्रधानमन्त्रीले बोल्दा बिचार पु¥याउनु पर्ने बताउँदै आएका छन् । प्रधानमन्त्री दाहालको विवादास्पद अभिव्यक्तिलाई लिएर गत मंगलबारदेखि संसद् अवरुद्ध छ ।



