नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले संवैधानिक दायरामा आएर राजनीतिक गतिविधिलाई अघि बढाउन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई चेतावनी दिएका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले संविधान नै नमान्ने, परिवर्तन नै नमान्ने, जनताको सर्वोच्चता नै नमान्ने र एउटा मालिक चाहियो भनेर कुद्ने गतिविधि सह्य नहुने चेतावनी दिएका हुन् । उनले गणतन्त्रमा नागरिक सर्वोच्चता हुने भएकाले कुनै मालिकलाई स्थापना गरेर राज्य अघि बढ्न नसक्ने स्पष्ट पारे ।
अध्यक्ष ओलीले कुनैपनि माग सम्बोधन गर्न नेपालको संविधानले प्रतिवन्ध नलगाएकोतर्फ पनि राप्रपालाई सचेत गराए । कार्यक्रममा अध्यक्ष ओलीले आम जनतालाई मर्का नपर्नेगरी न्याय सम्पादन गर्न न्यायालयलाई आग्रह गरे । अध्यक्ष ओलीले व्यक्तिको अधिकार सामुहिक हितको तुलनामा गौण हुने भएकाले न्याय निरुपण गर्दा अदालतले सो विषयलाई पनि गम्भिरतापूर्वक लिनुपर्ने बताए ।अध्यक्ष ओलीले एमाले सरकारबाट हटेपछि विकास निर्माणको काम आरोलो लागेको जिकिर गर्दै अब क्रमशः अघि बढ्ने दाबी समेत गरे ।






