हुलाकी राजमार्गअन्तर्गतको भिठामोड देखि जनकपुर सडकखण्ड लामो समयदेखि अलपत्र रहेको छ । १९ किलोमिटर सडक निर्माण कार्यमा ठेक्का सम्झौता रकमभन्दा बढी रकम भुक्तानी गरिसकेको भएपनि काम भने पूरा भएको छैन ।
हुलाकी राजमार्गअन्तर्गतको भिठामोड देखि जनकपुर सडकखण्ड लामो समयदेखि निर्माण पूरा हुन सकेको छैन । १९ किलोमिटर लामो समय दुई प्याकेजमा ठेक्का सम्झौता गरिएको सडक निर्माण कार्यका लागि काम पुरा नभएपनि स्पेसिफिकेसन स्टयान्डर्डभन्दा बढीको डिजाइन तथा लागत अनुमान तयार गरी बढी रकम भुक्तानी दिएको पाइएको छ ।



दुुई खण्डमा स्पेसिफिकेसन स्टयाण्डर्डभन्दा बढीको डिजाइन तथा लागत अनुमान तयार गरी ६२ लाख ९६ हजार रुपैयाँ ठेकेदारलाई बढी भुक्तानी दिएर अनियमितता भएको देखिएको हो । गलत लागत डिजाइन तयार गरी बढी खपत देखाएर भुक्तानी गरिएको रकम असुल उपर गर्नुपर्ने भनेर महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख भए पनि हालसम्म असुलउपर गरिएको छैन । ती दुवै प्याकेजअन्तर्गत ठेक्काको अन्तिम बिल भुक्तानी हुन बाँकी नै रहेकोले त्यसबेला हिसाब गरेर असुलउपर गर्ने हुलाकी सडक योजन कार्यालयको भनाइ छ ।
स्थानीयले भने अहिलेसम्मको निर्माण कार्य गुणस्तरीय नभएको जनाएका छन । काम पुरा नह्ुँदै दर्जनौं ठाउँमा सडकको छेउ, कल्भर्ड, भित्ता भत्किएको छ । कतिपय ठाउँको कल्भर्डको जग नै भत्किएको छ । कतिपय ठाउँमा फिलिङ माटोमाथि नै पिच गरिएकाले चर्किएको छ । ठेकेदार कम्पनीले सडकमा गुणस्तरहीन साम्रगी प्रयोगरी नेपाल–भारत जोडने व्यापारिक तथा धार्मिक सडकको आधारशिला नै कमजोर बनाएको सर्वसाधारणको गुनासो छ ।
पहिलो प्याकेज अन्तर्गत लागत अनुमानभन्दा बढी ३५ हजार ९२ लिटर बढी बिटुमिन खपत देखाई ३० लाख ८८ हजार रुपैयाँ बढी भुक्तानी गरिएको छ भने दोस्रो प्याकेज अन्तर्गत २२ हजार ६ सय ५३ लिटर बढी खपत देखाई २४ लाख ८४ हजार रुपैयाँ बढी रकम ठेकेदारले भुक्तानी लगेका छन । जनकपुरबाट ९ किलोमिटरसम्म सडक निर्माण गर्नका लागि प्रतिभा÷वाईपी जेभीले ४३ करोड ५६ लाख रुपैयाँमा ठेक्का पाएको थियो । त्यसैगरी ९ देखि १८ किलोमिटरसम्मको बाँकी सडक निर्माण गर्नका लागि आशिष÷रमण जेभीले ४९ करोड ७४ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।



