काठमाडौँ । अन्तर्राष्ट्रिय वित्तीय संस्था विश्व बैंकले आर्थिक वर्ष २०२४ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशतले सुधार हुने प्रक्षेपण गरेको छ । मंगलबार सार्वजनिक भएको ‘नेपाल विकास अपडेट : निर्यातको प्रतिस्पर्धात्मकता पुनर्स्थापना’ ले आव २०२५ सम्ममा नेपालको अर्थतन्त्र ५ प्रतिशतले बढ्ने अनुमान गरेको छ । प्रतिबेदनमा दक्षिण एशियाली मुलुक भारतको ६.३ प्रतिशत,माल्दिभ्सको ५.६ प्रतिशत,बंगलादेशको ५.६ प्रतिशत,भुटानको ४.० प्रतिशत,श्रीलंका र पाकिस्तानको १.७ प्रतिशत आर्थिक वृद्धिदर रहने बैकको प्रक्षेपण रहेको छ ।



बैंकले अर्धवार्षिक रूपमा सार्वजनिक गर्ने प्रतिवेदनअनुसार हटाइएको आयात प्रतिबन्ध, पर्यटनमा फर्कदो उत्साह र मौद्रिक नीतिमा क्रमशः बढाइएको खुकुलोपन लगायतका कारण सुधार नेपालको अर्थतन्त्रको वृद्धिदर हुने अपेक्षा गरिएको भनिएको छ । यद्यपि, कृषि उत्पादनको वृद्धिमा हुन सक्ने क्षति, भारतको निर्यात प्रतिबन्ध, उपभोग्य वस्तुमा हुनसक्ने मूल्यवृद्धि र उच्च मुद्रास्फितीका कारण बढ्दै जाने नीतिगत दर, आन्तरिक ऋण व्यवस्थापन खर्च र वृद्धिमा हुन सक्ने ढिलासुस्ती लगायतका जोखिमहरू विद्यमान रहेको भन्दै प्रतिवेदनले सचेत गराएको छ । भारतको तुलनामा कृषि, उद्योग र सेवा तीनै क्षेत्रमा रहेको श्रम उत्पादकताको गिरावटबाट पनि नेपाल प्रभावित रहेको प्रतिबेदनमा उल्लेख छ ।



