https://fb.watch/o3na8feoZk/

काठमाडौं । सर्वोच्च अदालतले कैद मिनाहा दिने सरकारको निर्णय बदर गरेसँगै प्रहरीले योगराज ढकाल ‘रिगल’लाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेको टोलीले रिगललाई पक्राउ गरेको एसपी सुवास बोहराले जानकारी दिएका हुन । सर्वोच्च अदालतले बिहीबार ढकालको बाँकी कैद माफी गर्ने निर्णय बदर गर्दै तत्काल पक्राउ गरेर थुनामा राख्न आदेश दिएको थियो । अदालतले उनलाई बाँकी रहेको ११ वर्ष ११ महिना ५ दिन थुनामा राख्न आदेश दिएको थियो ।

आदेश लगत्तै खोजी थालेको प्रहरीले रिगललाई पक्राउ गरेको हो । रिगल संविधान दिवसको अवसरमा बाँकी कैद माफी पाएर ४ भदौमा छुटेका थिए । त्यसबेला घोराहीस्थित जिल्ला कारागारमा गाडीहरुको लाँवालस्कर लागेको थियो । कांग्रेसका कार्यकर्ताहरुले उनको पक्षमा नारा लगाउँदै स्कर्टिङमा उनलाई घर लगेका थिए । तर, सरकारको निर्णयविरुद्ध चेतनकी श्रीमती भारती १७ असोजदेखि अनशन समेत बसेकी थिइन् ।

दशैंका बेला स्थगित अनशन उनले फेरि सुरु गरेकी थिइन् भने १३ कात्तिकमा अनशन स्थलमै उनी बेहोस समेत भएकी थिइन् । नेपालगञ्ज बजारमा खुँडा प्रहार गरेर २८ असार २०७२ मा चेतन मानन्धरको हत्या गरेको अभियोगमा रिगलमाथि थियो ।

उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ वैशाखमा दोषी ठहर गर्दै सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो । घटनामा संलग्न अन्य १० जनालाई संलग्नताको प्रकृति हेरर तीन वर्षदेखि १० वर्षसम्म कैद सजाय तोकिएको थियो । रिगलको कैद माफीका लागि कांग्रेस नेताहरुको जोडबल थियो ।

राष्ट्रपतिबाट आममाफी पाएका रिगल नेपालगञ्जबाट बाँके प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक नारायण डाँडीको नेतृत्वमा खटिएको प्रहरी टोलीले नेपालगञ्जको सेतुविक चोकबाट पक्राउ गरेको हो ।

 

 

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय