बङ्गलादेशको राजधानी ढाकामा सात तल्ले भवनमा आगलागी हुँदा कम्तिमा ४३ जनाको मृत्यु भएको छ । अन्य २२ जना घाइते भएका छन् । आगलागीको क्रममा ७५ जना भवनमा फसेका र तीमध्ये ४२ जना वेहोस भएका थिए । उनीहरूलाई तत्काल अस्पताल पुर्याइएकोमा ३३ जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार ढाका मेडिकल कलेज हस्पिटलमा ३३ जना र शेख हसिना नेशनल इन्स्टिच्यूट अफ बर्न एन्ड प्लास्टिक सर्जरी हस्पिटलमा भर्ना भएका १० जनाको मृत्यु भएको छ । घाइते २२ जनाको उपचार अहिले भइरहेको छ ।
गएराति करिव दश बजेतिर आगलागी भएको हो । घरको पहिलो तल्लामा रहेको एक रेस्टुरेन्टवाट आगो फैलिएको प्रहरीले जनाएको छ । आगलागीको कारण भने खुलेको छैन । सो भवनमा अन्य रेस्टुरेन्ट तथा कपडा र मोबाइल फोन पसलहरू पनि थिए । बंगलादेशमा व्यावसायिक र आवासीय भवनहरूमा आगलागी हुनु सामान्य कुरा हो । कमजोर नियमन, फितलो कानुनी व्यवस्था तथा जनचेतनाको अभावले हरेक वर्ष सैयौंले ज्यान गुमाउने गरेको तथ्यांक रहेको छ ।






