काठमाडौं । काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारीसाधनहरूमा सीसी क्यामेरा तथा ड्यासबोर्ड क्यामेरा जडान गर्ने अभियानको औपचारिक सुरुवात गरिएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बुधबार एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक सवारीसाधनको सुरक्षा र निगरानीलाई प्रभावकारी बनाउने उद्देश्यसहित उक्त अभियान प्रारम्भ गरेको हो ।

सार्वजनिक सवारीसाधनभित्र चोरी, अभद्र व्यवहार, यात्रु दुव्र्यवहार तथा अन्य आपराधिक गतिविधिहरू बढ्दै गएको भन्दै यात्रुहरूबाट गुनासो आउने गरेपछि सीसी क्यामेरा जडान गर्ने निर्णय गरिएको ट्राफिक प्रहरीले जनाएको छ । क्यामेरा जडान भएपछि यस्ता घटनामा संलग्न व्यक्तिहरूको पहिचान गर्न र आवश्यक कानुनी कारबाही अघि बढाउन सहज हुने विश्वास लिइएको छ ।

ट्राफिक प्रहरीका अनुसार सवारीसाधनभित्र जडान गरिने सीसी क्यामेराले यात्रुको गतिविधि निगरानी गर्नेछ भने ड्यासबोर्ड क्यामेराले सवारी चलिरहेको अवस्थाको दृश्य रेकर्ड गर्नेछ । यसले दुर्घटना भएमा दुर्घटना कसरी र के कारणले भयो भन्ने पत्ता लगाउन सहयोग पुग्नेछ। साथै चालकको लापरबाही, ट्राफिक नियम उल्लंघन तथा अन्य जोखिमपूर्ण गतिविधिको अध्ययन गर्न पनि यी क्यामेराहरू उपयोगी हुने बताइएको छ ।

सार्वजनिक सवारीमा क्यामेरा जडान भएपछि यात्रुहरूले आफूलाई थप सुरक्षित महसुस गर्ने र चालक तथा सहचालकहरू पनि जिम्मेवार भएर सवारी सञ्चालन गर्न प्रेरित हुने ट्राफिक प्रहरीको अपेक्षा छ। प्रारम्भिक चरणमा उपत्यकाका मुख्य रुटमा चल्ने सार्वजनिक सवारीसाधनहरूमा क्यामेरा जडान गरिने र क्रमशः सबै सार्वजनिक सवारीमा विस्तार गरिने योजना रहेको जनाइएको छ ।

ट्राफिक प्रहरी कार्यालयले यो अभियानलाई सफल बनाउन सवारी व्यवसायी, चालक, सहचालक तथा यात्रु सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै सुरक्षित, मर्यादित र व्यवस्थित सार्वजनिक यातायात प्रणाली विकासतर्फ यो कदम महत्वपूर्ण हुने विश्वास व्यक्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय