काठमाडौं । सिस्नेखोला–नागढुंगा सुरुङमार्ग निर्माणको क्रममा प्रभाबित स्थानीयले सुरुङमार्ग निर्माण आयोजनाको क्षेत्रीय कार्यालय चन्द्रागिरि–२ मा धर्ना दिएका छन । आयोजनाका कारण खानेपानीको मुहान सुकेको, घरहरु चर्किएको, केही स्थानमा जमीन भासिएकोलगायतका गुनासोको सम्बोधन नभएको भन्दै स्थानीयले हाज्मा एन्द्रोको चन्द्रागिरि –२ स्थित कार्यालय अगाडि धर्नासहित दबाब दिएका हुन ।

कार्यालय अगाडि स्थानीयले चर्केको भौतिक संरचनाको उचित क्षतिपूर्तिको व्यबस्था गर्नुपर्ने, पर्याप्त खानेपानीको व्यबस्था गर्नु पर्ने, प्रभावित क्षेत्र घोषणा गर्नुपर्ने, सुरुङ माथीको जमीनको विषयमा उचित सम्बोधन हुनुपर्ने लगायतको प्लेकार्डसहित शान्तिपूर्ण धर्ना दिएका हुन । सुरुङमार्ग प्रभाबित क्षेत्रका वासिन्दाले पटक पटक माग सम्बोधनका लागि प्रयास गरेको तर आयोजना र राज्यले माग सम्बोधन गर्ने आश्वासन मात्र दिएको आरोप लगाएका छन् । माग सम्बोधनको कार्यान्वयन पक्षमा आयोजना उदासिन भएकाले दबाब स्वरुप शान्तीपूर्ण धर्ना कार्यक्रम राखियको र माग सम्बोधन नभए रित्ता गाग्रीसहित प्रदर्शनमा उत्रने र रिले अनसन समेत गर्दै थप दबाब मुलक कार्यक्रम गर्ने सिस्नेखोला–नागढुंगा सुरुङमार्ग प्रभाबित खानेपानी तथा सरसफाइ उपभोत्ता समितिका अध्यक्ष गोपी सुर्खेतीले बताउनु भयो ।

सिस्नेखोला–नागढुंगा सुरुङमार्गको मुख्य टनेल आगामी २३ फागुन (६ मार्च)मा ‘ब्रेक थ्रु’ गरिने गरी कार्य भइरहेको छ । जापानी निर्माण कम्पनी हाजमा एन्डो कर्पाेरेसनले डिसेम्बर २०७७ पुस देखि सुरुङ खन्न सुरु गरेको थियो । टनेलको ब्यास ९.५ मिटर रहेको छ, जहाँ दुई लेन सडक हुनेछ । यसको उचाई भने ८.३ मिटरको रहेको छ । रेस्क्यु टनेलको ब्यास भने ४.५ मिटर रहेको छ । यो सिंगल लेन सडक हुनेछ । यो आयोजना बनाउन कुल २२ अर्ब १४ करोड लाग्ने अनुमान छ । त्यसमा जाइकाले १६ अर्ब ६३ करोड सहुलियत ऋण उपलब्ध गराएको छ । बाँकी पाँच अर्ब ८५ करोड नेपालको लगानी हो । हालसम्म आयोजनाको भौतिक प्रगति ६१.१५ प्रतिशत,र वित्तीय प्रगति भने ६३.९६ प्रतिशत पुगेको तथ्यांकमा उल्लेख छ । परियोजनाका ११ वटा संरचना पनि तयार भइसकेका छन् । आयोजनामा बन्ने १२ संरचनामध्ये तीन अन्डरपास र चार बक्स कल्भर्ट (माथि गाडी गुड्ने तल पानी बग्ने संरचना)को निर्माण सकिएको छ ।

यसैगरी, एक ओभरपास, तीनवटा पुलको निर्माण पनि सम्पन्न भइसकेको छ । फ्लाई ओभर भने निर्माणको चरणमा छ । आयोजनाको यत्ति धेरै कार्य सम्पन्न भैसक्दा पनि सुरुङमार्ग प्रभाबितहरुको माग भने सम्बोधन हुन सकेको छैन ।

प्रधानमन्त्री पुष्पकमल दाहालले नै २०८० भाद्रमा तत्कालीन आयोजना प्रमुखसँग स्थानीयको माग सम्बोधन गर्न चन्द्रागिरिबाट नै निर्देशन दिएका थिए । साथै स्थानीय जनप्रतिनिधि, प्रदेश संसदलगायतले भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको ध्यानाकर्षण गराएका थिए । माग सम्बोधनको प्रतिबद्धता सबैतिरबाट पाएका स्थानीयले सुरुङमार्ग निर्माण अन्तिम चरणमा रहँदा समेत कुनै मागको सुनुवाई नभएपछि दबाब मुलक कार्यक्रम गर्न बाध्य भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय