काठमाडौं । यात्रुसहित सुनकोसी नदीमा वेपत्ता कारको आज बिहानैदेखि खोजी कार्य थालिएको छ ।
मध्य पहाडी लोकमार्ग अन्तर्गत फिक्कल गाउँपालिका–२ नवलपुरमा सोमबार दिउँसो काठमाडौंबाट ओखलढुङ्गातर्फ जाँदै गरेको बागमती प्रदेश ०८–००१ ख ०१४४ नम्बरको बसले बिपरित दिशाबाट खुर्कोटतर्फ आउँदै गरेको प्रदेश ३–०१–०२४ च ९५७३ नम्बरको कारलाई ठक्कर दिँदा तीन जना यात्रुसहित सुनकोसी नदीमा वेपत्ता भएका थिए ।



सोमबार राति अवेरसम्म खोजतलास गरे पनि केही पत्तो लागेको थिएन । कोसीमा पानीको बहाव उच्च भएको र रातिको समय भएपछि स्थगित गरिएको खोजी कार्यलाई मंगलबार बिहानैबाट निरन्तरता दिइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
बसले ठक्कर दिँदा अनियन्त्रित भई कार सुनकोसी नदीमा खस्दा कारका चालक सिन्धुपाल्चोक घर भएका बर्ष ३९ का दिलकुमार लामा, स्काभेटर चालक सिन्धुली जिल्ला गोलान्जोर गाउँपालिका–१ अन्दाजी २८ वर्षका गणेश थापा र स्काभेटरका हेल्फर तीनपाटन गाउँपालिका–९ डाँडाखर्क बस्ने वर्ष १७ का सुजन बलम्पाकी मगर नदीमा बेपत्ता भएका थिए ।
वेपत्ता लामा मध्यपहाडी लोकमार्ग निर्माणका ठेकेदार हुन् । उनी सिन्धुपाल्ल्चोकस्थित जुगल गाउँपालिका–७ का पूर्व वडा अध्यक्ष समेत भएको बताइएको छ । लामा २०७४ सालमा वडा अध्यक्षमा निर्वाचित भएका थिए । उनीहरू साइडमा काम सकेर खाना खान नवलपुरतर्फ आउँदै थिए ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी खुर्कोट व्यस क्याम्पको गोताखोर टोली, वेपत्ताको आफन्तसहित स्थानीयले वेपत्ता कार र यात्रुहरुको खोजी कार्य जारी राखेका छन् ।



