मकवानपुर – मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित सेल्फी रोड नजिकैको सामुदायिक वनमा अन्दाजी ३०–३२ वर्षीया एक महिलाको शव फेला परेको छ। सेतो बोरामा बाँधेर खाल्डोमा फालिएको अवस्थामा शव भेटिएपछि प्रहरीले घटनाबारे गम्भीर अनुसन्धान सुरु गरेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहीबार दिउँसो करिब १ः५० बजे च्याउ टिप्न गएका स्थानीयले वनभित्र शंकास्पद अवस्थामा बोरा देखेका थिए। नजिक पुगेर हेर्दा बोराभित्र मानव शव रहेको आशंका भएपछि उनीहरूले तत्काल प्रहरीलाई खबर गरेका थिए।



सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक किशोर आचार्यको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रारम्भिक रूपमा घटनास्थल सुरक्षित राखेर प्रमाण संकलन गरिएको प्रहरीले जनाएको छ। घटनाको प्रकृति संवेदनशील देखिएकाले जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको नेतृत्वमा तालिमप्राप्त कुकुर (सोको) सहितको विशेष अनुसन्धान टोली पनि घटनास्थल पुगेको थियो।
प्रहरीले बोरा खोलेर हेर्दा अन्दाजी ३० देखि ३२ वर्ष उमेरकी महिलाको शव फेला परेको जनाएको छ। मृतकको नाम, थर, ठेगाना तथा परिचय हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ।घटनास्थलमा आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि हेटौंडा अस्पताल पठाइएको छ। घटनाको प्रकृति, मृत्युको कारण र शव त्यहाँ कसरी पुर्याइयो भन्ने विषयमा प्रहरीले विभिन्न कोणबाट अनुसन्धान अघि बढाएको जनाएको छ। साथै मृतकको पहिचान खुलाउने प्रयाससमेत भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।



