जीतपुरसिमरा, बाराः मधेश प्रदेश सरकारले भदौ ७ गते जारी गरेको स्थानिय सेवा (गठन तथा संचालन) ऐन २०८१ को प्रावधानअनुसार स्तर वृद्धि प्रक्रिया अघि नबढाएको भन्दै जीतपुरसिमरा उपमहानगरपालिकाका कर्मचारीहरू धर्नामा बसेका छन्।



पालिकाभित्र कार्यरत ३३ जना कर्मचारीहरूले शुक्रवारदेखि पेन डाउन गर्दै कार्यालय बाहिर धर्ना सुरु गरेका छन्। उनीहरूले आफूहरूले आवश्यक कागजात समयमै बुझाए पनि तह वृद्धिको प्रक्रिया अघि नबढेकोमा असन्तोष जनाएका छन्।
पाँचौं तहका कर्मचारी त्रिलोक ठाकुरले भने, “प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेसँग कुरा गर्दा उहाँले ‘म तपाईहरूको काम गर्दिन’ भन्ने गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिनुभयो। यसले हाम्रो मनोबललाई गम्भीर असर पुर्याएको छ।”
कर्मचारीहरूको आरोप छ कि ऐनको दफा २९ को उपदफा ४ अनुसार तह वृद्धि प्रक्रिया अगाडि बढाउन पालिकाले सूचनासमेत प्रकाशित गरेपनि सुनुवाइमा ढिलाइ गरिएको छ। धर्नामा बसेका कर्मचारीहरूले भने, “योग्यता र कागजात पूरा गर्दा पनि पालिकाले नियोजित रूपमा आलटाल गरिरहेको छ, जसले हाम्रो मनोबल गिराएको छ।”
यस विषयमा नगर प्रमुख र प्रशासनले कुनै ठोस प्रतिक्रिया नदिँदा कार्यालयका दैनिक कामकाज प्रभावित भएका छन्। स्थानीय तहको सुशासन र कर्मचारीहरूको हकहितका विषयमा अन्य नगरपालिकाहरूले पनि चासो देखाउनुपर्ने धर्नाकारीहरूको माग छ।



