काठमाडौं । संविधानसभाका अध्यक्ष एवम् पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको गएराति निधन भएको छ । काठमाडौंको बालुवाटारस्थित आफ्नै निवासमा अचेत अवस्थामा भेटिएपछि उनलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगियो । अस्पताल पु-याएलगत्तै चिकित्सकले नेम्वाङ नरहेको घोषणा गरेको थियो ।
विक्रम संवत् २००९ साल फागुन २८ मा इलामको सुन्तलाबारीमा नेम्वाङको जन्म भएको थियो । विद्यार्थीकालदेखि नै राजनीतिमा होमिएका नेम्वाङ २०२९ सालमा अनेरास्ववियुको तर्फबाट महेन्द्ररत्न बहुमुखी क्याम्पस इलामको स्ववियु सभापति भए । वि.सं. २०३३ सालमा राजकाज मुद्दामा जेल परेका नेम्वाङ तत्कालीन नेकपा मालेमा संगठित सदस्य बने । २०४७ सालमा तत्कालीन नेकपा माले र नेकपा माक्र्सवादी पार्टीबीच एकता भएपछि बनेको नेकपा एमालेको कानून विभाग प्रमुख हुँदै २०५८ सालमा नेम्वाङ केन्द्रीय सदस्यमा मनोनित भए ।



विक्रम संवत् २०४८ र २०५२ सालमा नेम्वाङ राष्ट्रिय सभाको अध्यक्ष रहे । २०५२ सालमै कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री बनेका नेम्वाङ २०५६ सालको संसदीय चुनावमा इलामबाट विजयी भइ पुनः कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री, त्यसपछि सामान्य प्रशासनमन्त्री भए । २०५७ सालमा उनी संसद्को सार्वजनिक लेखा समितिको सभापति थिए ।
२०६३ सालको अन्तरिम संसदमा उनी सभामुख चयन भए । यस्तै २०६४ र २०७० सालको चुनावमा इलामबाटै निर्वाचित नेम्वाङ संविधानसभाको अध्यक्ष बने । २०७४ साल र २०७९ सालको आम चुनावमा नेम्वाङ प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । चारपल्ट सभामुख बन्दा उनी सधैं सर्वसम्मत भएका थिए । एमालेको सातौँ महाधिवेशनमा नेम्वाङ केन्द्रीय सदस्य निर्वाचित भए भने २०७१ सालमा भएको नवौं महाधिवेशनपछि नेम्वाङ स्थायी कमिटी सदस्य र २०७८ सालमा चितवनमा भएको दशौँ महाधिवेशनमा उपाध्यक्ष बने । नेम्वाङ नेपाली राजनीतिमा प्रखर, शालीन र सबैलाई मिलाएर जान सक्ने नेताको रुपमा चिनिन्छन् । नेम्वाङको निधनप्रति नेकपा एमाले मात्र नभई सिँगो देश नै मर्माहत भएको छ । श्रद्धाञ्जली



