स्वास्थ्य बीमामा आबद्ध भएका नागरिकको परिवारले तोकिएको अस्पतालमा उपचार गर्दा एक लाखदेखि दुई लाख रुपैयाँसम्मको उपचार सेवा लिन पाउँछन् । उपचारमा बढी पैसा खर्च हुँदा बिरामी आफैले व्यहोर्नुपर्छ । यही सेवा पनि सबै नागरिकले सबै ठाउँबाट प्रभावकारी रुपमा उपभोग गर्न पाएका छैनन् । तर स्वास्थ्यमन्त्री प्रदीप पौडेलले भने बीमाको रुकम ५ लाख बनाउने प्रस्ताव गर्नुभएको छ । भएको व्यवस्थासमेत कार्यान्वयन नभइरहेको अवस्थामा बीमा रकम बढाउने कुरा कति जायज होला ?

जनगणना २०७८ अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ जना रहेको छ । जसमा हालसम्म स्वास्थ्य बीमामा जोडिएका नागरिकको संख्या ८१ लाख ४५ हजार ८ सय ३१ जना रहेका छन् भने बीमा नवीकरण गर्ने नागरिकको संख्या ३९ लाख १९ हजार ७ सय ४ जना रहेको छ ।

स्वास्थ्य बीमाका लागि सरकारले यो वर्ष ७ अर्ब ५० करोड रुपैयाँ छुट्याएको छ । सरकारले स्वास्थ्य वीमा बापतको रकम भुक्तानी गर्न ९ अर्ब रहेको छ । स्वास्थ्य बीमा कार्यक्रमअनुसार उपचार हुने अस्पतालको संख्या ४ सय ७५ वटा रहेको छ । यही तथ्यांकलाई मात्र आधार मानेर अघि बढ्ने हो भने २ करोड १० लाख १८ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमाको दायरामै आएका छैनन् । आएका मध्ये पनि ४२ लाख नागरिकले बीमा सुविधा नवीकरण गरेका छैनन् ।

सरकारले स्वास्थ्य बीमा गरेको ५ जनासम्मको परिवारलाई ३ हजार ५ सय रुपैयाँ योगदानमा एक लाख रुपैयाँ बराबरको निःशुल्क उपचार सेवा दिइरहेको छ । त्यसमाथि परिवारको संख्याका आधारमा प्रतिव्यक्ति सात सय रुपैयाँसम्म तिर्ने हो भने २ लाख रुपैयाँसम्मको उपचार सेवा पाइन्छ ।

माथीको डाँटा हेर्ने हो भने स्वास्थ्यमन्त्री पौडेल बीमा रकम एक लाखबाट बढाएर ५ लाख रुपैयाँ पुर्याउने भन्ने कुरा के सम्भव छ त ? कतै मन्त्री पौडेलले स्टन्ट त गर्न खोजेको होइन । होइन भने किन असम्भव कुरालाई मन्त्री पौडेलले ५ लाख पुराउछु भनेर कुर्लिरहेका छन् । उहाँ आफैले स्वीकार गरिसक्नु भएको छ कि यथाअवस्थामा वीमा रकम बढाउन सकिदैन भनेर । बीमा बापतको ९ अर्ब रकम अस्पताललाई सरकारले तीर्न सकेको छैन ।

अहिलेको वास्तविकता जो जो नागरिक निःशुल्क उपचारको आशमा बीमामा सहभागी भएका छन् उनीहरुले उपचारका लागि सास्ती खेपिरहेका छन् । बीमा भन्नासाथ अस्पतालहरुले नाक खुम्च्याउन थालेका छन् । विरामीले भनेको समयमा न उपचार पाएका छन् न औषधि नै ।

एकातिर सरकारले आफ्नो पुरानै निर्णयलाई व्यवस्थित बनाउन सकेको छैन । बीमाको स्रोत सुनिश्चित गर्न सकेको छैन । लाखौँ नागरिकलाई बीमाको दायरामै ल्याउन सकेको छैन । एकपटक बीमामा सहभागी भएका नागरिकहरुले उपचारमा हुने लापरबाहीका कारण नवीकरण गर्न चाहिरहेका छैनन् । यही भद्रगोल अवस्थालाई व्यवस्थित नगर्ने अनि सिधै रकम बढाउने प्रस्ताव गरेर कस्तो खाले स्टन्ट गर्न चाहिरनुभएको छ स्वास्थ्यमन्त्री पौडेलले ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय