मनाङ — मनाङको नार–फू क्षेत्रमा पर्ने ७ हजार १२६ मिटर अग्लो हिमलुङ हिमालको आधार शिविरमा आइतबार बिहान हिमपहिरो जाँदा १४ जना नेपाली सम्पर्कविहीन भएका छन्। प्रारम्भिक विवरणमा १० जना सम्पर्कविहीन भनिए पनि पछिल्लो सूचनाअनुसार संख्या १४ पुगेको हो। सम्पर्कविहीन हुनेमा आरोहण टोलीका शेर्पा गाइड तथा अन्य सहयोगी कर्मचारी रहेको पर्यटनसम्बन्धी अधिकारीहरूले बताएका छन्। विदेशी आरोहीहरू भने घटनास्थलमा पुगिसकेका थिएनन्। उनीहरूका लागि नेपाली टोलीले आधार शिविर तयार गर्ने, आरोहण मार्ग व्यवस्थापन गर्ने तथा डोरी टाँग्ने काम गरिरहेको थियो।

हिमपहिरोपछि सम्पर्कविहीन भएकाहरूको खोजी तथा उद्धारका लागि हेलिकप्टर तयारी अवस्थामा राखिएको छ। तर हिमलुङ क्षेत्रमा प्रतिकूल मौसमका कारण उद्धार टोलीलाई घटनास्थलसम्म पुर्‍याउन कठिनाइ भइरहेको छ। काठमाडौं र पोखरामा हेलिकप्टर तथा पर्वतारोहण गाइडको टोली तयारी अवस्थामा राखिएको जनाइएको छ। पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले घटनाबारे विभागले नजिकबाट निगरानी गरिरहेको र खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको बताएका छन्।

हिमलुङ क्षेत्रमा केही दिनयता वर्षा र हिमपात भइरहेको थियो। प्रतिकूल मौसमका कारण खोजी तथा उद्धार कार्य चुनौतीपूर्ण बनेको छ। उद्धार टोली घटनास्थलमा पुगेर खोजी सुरु गरेपछि मात्र सम्पर्कविहीनहरूको वास्तविक अवस्था र घटनाबाट भएको क्षतिको थप विवरण स्पष्ट हुने बताइएको छ। हाल सम्बन्धित निकायले हेलिकप्टरमार्फत उद्धार टोली घटनास्थलमा पुर्‍याउने प्रयास जारी राखेका छन्। सम्पर्कविहीनहरूको अवस्थाबारे थप आधिकारिक विवरण आउन बाँकी छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय