काठमाडौं । बागमती प्रदेशको राजधानी हेटौँडामा आजदेखि फोटो प्रदर्शनी सुरु भएको छ । मकवानपुरको उत्तरी क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि पुस २१ गतेसम्म हुने फोटो प्रदर्शनीमा ६० वटा फोटो राखिएका छन् ।
थाहा नगरपालिकाको आयोजना, हेटौँडा उपमहानगरपालिका, नेपाल पत्रकार महासंघ मकवानपुर शाखा र फोटो पत्रकार संघ मकवानपुरको सहयोगमा तथा फरक सोच र शिखर क्लबको व्यवस्थापनमा प्रदर्शनी भइरहेको फरक सोचका संयोजक यादवजंग रायमाझीले जानकारी दिनुभएको छ ।



प्रदर्शनीमा थाहा नगरको पर्यटकीय क्षेत्र, प्राकृतिक, धार्मिक स्थल, सभ्यता, संस्कृति र जीवनशैली समेटिएका फोटो राखिएका छन् । काठमाडौँबाट नजिक रहेको थाहामा पर्यटनको प्रचुर सम्भावना रहेको उत्तरी मकवानपुरको सम्पदा, सभ्यता र जीवनशैलीलाई समेटेर फोटो प्रदर्शनी गरिएको रायमाझीले बताउनुभयो । थाहा नगरसँगै इन्द्रसरोवर गाउँपालिका आसपासका क्षेत्र आन्तरिक एवम् बाह्य पर्यटकको रोजाइमा परिरहेको सन्दर्भमा आयोजना गरिएको फोटो प्रदर्शनीले यहाँको पर्यटन क्षेत्रको विकासमा थप मद्दत पुग्ने आयोजकको विश्वास छ ।



