म्याग्दी । बेनी नगरपालिकामा बाटो खुलेको २५ वर्षपछि सडक कालोपत्र भएको छ । बेनी नगरपालिका–६ को एक्लेपिपलबाट जम्रेनी क्षेत्रमा बाटो खुलेको २५ वर्षपछि सडक कालोपत्र र ढलानसहित स्तरोन्नति गरिएको हो ।

सडक स्तरोन्नति भएपछि आवतजावत गर्न सहज भएको छ । यो सडक निर्माणका लागि गत आर्थिक वर्ष २०८०÷०८१ मा १ करोड ३४ लाख ६६ हजार ९ सय २९ रुपैयाँमा निर्माण कम्पनीसँग सम्झौता भएको थियो । सात सय मिटर प्रिमिक्स प्रविधिको कालोपत्र, १२५ मिटर ढलान ७ सय मिटर पानीका निकासा लागि नाली र ६ सय मिटर पर्खाल निर्माण भएको छ । यो सडकले बेनी नगरपालिका–६, ९, १० हुँदै रघुगङ्गा गाउँपालिका–५, ६ र ८ नम्बर वडालाई जिल्ला सदरमुकामसँग जोडेको छ ।

गण्डकी प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालयले १० करोड १६ लाख १ हजार ३ सय ६४ रुपैयाँको लागतमा बेनी–पाखापानी सडकको भुतेदैला–नेप्टेचौर–तोरीपान खण्डमा चार किलोमिटर सडक स्तरोन्नति गर्ने आयोजना सञ्चालन गरेको छ ।

नगरपालिकाले चालु आर्थिक वर्षमा ३ करोड बजेट विनियोजन गरेको बेनी–पात्लेखेत सडकको तोरीपानीबाट पात्लेखेततर्फ स्तरोन्नतिको तयारी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय