नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर लिमिटेडले निर्माण गरिरहेको ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजनाको काम ८० प्रतिशत सकिएको छ ।नेपाल सरकार तथा प्राधिकरणको लगानी र निर्यात आयात एक्जिम बैङ्क, भारतको लाइन अफ क्रेडिटबाट प्राप्त सहुलियतपूर्ण ऋणमा म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन आयोजना आगामी असारभित्र सम्पन्न गर्ने गरी काम भइरहेको छ । आयोजनाको ६।२ किलोमिटर लामो सुरुङ खनी कङ्क्रिट लाइनिङको काम भइरहेको छ ।
विद्युत् गृहको मुख्य सिभिल संरचनाहरूको निर्माण सम्पन्न गरी टर्वाइन, जेनेरेटरलगायतका इलेक्ट्रोमेकानिकल उपकरणहरू जडान भइरहेको छ । विद्युत् उत्पादनका लागि २०–२० मेगावाटका दुईवटा युनिट रहने छन् ।
खोलाको नदी फर्काउन आवश्यक बाँधको सिभिल संरचना निर्माण सम्पन्न भएको छ । बाँधमा रहने गेटलगायतका उपकरणहरू आयोजनास्थलमा ढुवानी भइसकेका छन् । प्राधिकरणका कार्यकारी निर्देशक एवम् रघुगंगा हाइड्रोपावर सञ्चालक समितिका अध्यक्ष कुलमान घिसिङले आयोजना आगामी असारभित्र जुनसुकै अवस्थामा निर्माण सम्पन्न गर्ने गरी एकीकृत तालिका बनाएर अगाडि बढ्नु पर्ने बताउनुभयो । आयोजनाको अनुमानित लागत ९ अर्ब १७ करोड रुपैयाँ छ । आयोजनामा भारतीय एक्जिम बैंकको ६ करोड ७० लाख डलर सहुलियतपूर्ण ऋण रहेको छ । बाँकी रकम सरकार र प्राधिकरणले लगानी गरेको छ । त्रिशूली र देवीघाट जलविद्युतपछि भारतले विद्युत उत्पादनतर्फको राहुघाटमा सहायता उपलब्ध गराएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय