काठमाडौं । आज ६ वटा प्रदेश सरकारले आर्थिक वर्ष ०८०-०८१ को बजेट ल्याउने भएको छ । बागमती, लुम्बिनी, मधेश, कर्णाली, गण्डकी र सुदूरपश्चिम सरकारले आज बजेट ल्याउन लागेका हुन् भने कोशी प्रदेश सरकारले अध्यादेशमार्फत बिहीबार नै बजेट सार्वजनिक गरिसकेको छ ।
चालू आ.ब. ०७९-८० मा ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँको बजेट ल्याएको बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि १० प्रतिशत कम आकारको बजेट ल्याउने भएको छ ।



लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि करिब ४० अर्ब रुपैयाँबराबरको बजेट ल्याउने तयारी गरेको छ । यस्तै मधेश प्रदेशले चालु आर्थिक वर्षको भन्दा करिब ११ प्रतिशतले आकार घटाएर आगामी आगामी आर्थिक वर्षका लागि ४० अर्बको हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ । साथै गण्डकी प्रदेशले ०८०-०८१ का लागि ३२ अर्बको हाराहारीमा बजेट ल्याउँदै छ । चालु आ.व.मा ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट ल्याएको थियो भने कर्णाली प्रदेशले यो वर्ष ३० अर्बको बजेट ल्याउने भएको छ । चालु आ.ब. को बजेट ३२ अर्ब ३१ करोडको छ ।
यसैगरी सुदूरपश्चिम प्रदेश सरकारले ३६ अर्ब ७४ करोड ६४ लाखको बजेट ल्याउँदै छ । यो चालु आर्थिक वर्ष भन्दा करिब १५ प्रतिशतले कमी हो । यो सँगै सातै प्रदेशको कुल बजेट २ खर्ब ७० अर्बको हाराहारीमा हुनेछ । ०७९-०८० मा सात वटै प्रदेशको गरी ३ खर्ब ५ अर्ब ४६ करोड रुपैयाँको बजेट आएको थियो ।



