काठमाडौं । समाजका अनुभवी र सम्मानित नागरिकका रूपमा रहेका जेष्ठ नागरिक तथा अशक्त व्यक्तिको स्वास्थ्य, सम्मान र मनोबललाई उच्च राख्ने उद्देश्यसहित चन्द्रागिरि नगरपालिका वडा नं. ७ ले विशेष सामाजिक कार्यक्रम सञ्चालन गरेको छ । वडाले जेष्ठ नागरिक तथा अशक्त व्यक्तिको घरमै पुगेर पौष्टिक आहार वितरण गर्दै उनीहरूप्रति स्थानीय सरकारको जिम्मेवारी र आत्मीयता प्रकट गरेको हो ।

वडाबाट विनियोजित एक लाख रुपैयाँ बजेटबाट सञ्चालन गरिएको कार्यक्रममा ५१ जना जेष्ठ नागरिक तथा अशक्त व्यक्तिलाई पौष्टिक आहार वितरण गरिएको वडा सदस्य भुवन कुमार केसीले जानकारी दिएका छन् । उनले उमेर, स्वास्थ्य अवस्था तथा शारीरिक कठिनाइका कारण बाहिर आउन असहज हुने व्यक्तिहरूलाई लक्षित गरी घरदैलोमै पुगेर सामग्री वितरण गरिएको पनि बताए । जेष्ठ नागरिकको सेवा गर्न पाउनु आफ्नो लागि गौरवको विषय भएको बताउँदै समाज र परिवार निर्माणमा महत्वपूर्ण योगदान पु¥याएका अग्रजहरूको सम्मान र हेरचाह गर्नु सबैको साझा दायित्व भएको केसीको भनाइ छ । यस्ता कार्यक्रमले जेष्ठ नागरिकलाई स्थानीय सरकार आफ्नै घरपरिवारझैँ साथमा रहेको अनुभूति केसीले विश्वास व्यक्त गरेका छन् ।

त्यसैगरी वडा सदस्य उमा कुमारी थापाले जेष्ठ नागरिकको शारीरिक स्वास्थ्यसँगै मानसिक स्वास्थ्य पनि उत्तिकै महत्वपूर्ण हुने बताइन् । उनका अनुसार यस्ता कार्यक्रमले जेष्ठ नागरिकको मनोभावना सकारात्मक बनाउन, आत्मविश्वास बढाउन तथा उनीहरूलाई समाजबाट सम्मानित र सुरक्षित महसुस गराउन महत्वपूर्ण भूमिका खेल्छ ।

यसैगरी वडा सदस्य पूर्णकुमारी बयलकोटीले वडा जेष्ठ नागरिक तथा अशक्त वडावासीलाई वडाले निरन्तर सहयोग गर्ने बताएकी छन् ।

घरमै पुगेर गरिएको यस सेवाले लाभग्राहीहरूमा खुसी र उत्साह थपेको छ । धेरै जेष्ठ नागरिकले स्थानीय सरकारको यस्तो आत्मीय सहयोगले आफूहरूलाई सम्मानित महसुस भएको प्रतिक्रिया दिएका छन् ।

सामाजिक उत्तरदायित्व, मानवीय संवेदना र ज्येष्ठ नागरिकप्रतिको सम्मानलाई व्यवहारमा उतार्दै चन्द्रागिरि वडा नं. ७ ले सञ्चालन गरेको यो कार्यक्रम स्थानीय तहले समुदायका कमजोर र आवश्यकतामा रहेका वर्गप्रति कसरी उत्तरदायी बन्न सक्छ भन्ने उदाहरण बनेको छ । विकास निर्माणका भौतिक पूर्वाधारसँगै मानव सेवा र सामाजिक सुरक्षालाई प्राथमिकता दिने यस्ता अभियानले समाजलाई अझ समावेशी, सहृदयी र सभ्य बनाउन महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ । पौष्टिक आहार वितरणका क्रममा कार्यबाहक वडा अध्यक्ष रामशरण महत, समाजसेवीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय