काठमाडौं – भारतको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) स्वदेश फर्किएका छन्। उनी केहीबेरअघि नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालका लागि प्रस्थान गरेका हुन्। प्रधानमन्त्री शाहलाई विमानस्थलमा भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसाद, भारतका लागि नेपाली राजदूत डा। निश्चलनाथ पाण्डे तथा नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलालगायतले बिदाइ गरेका थिए। परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाह भ्रमणका औपचारिक कार्यक्रम सम्पन्न गरी स्वदेश फर्किएका हुन्।

प्रधानमन्त्री शाहले भारत भ्रमणका क्रममा भारतीय राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार तथा द्विपक्षीय भेटवार्ता गरेका थिए। नयाँदिल्लीस्थित हैदराबाद हाउसमा भएको प्रधानमन्त्रीस्तरीय वार्तामा नेपाल–भारत सम्बन्ध, व्यापार, पर्यटन, ऊर्जा, पूर्वाधार विकास र कनेक्टिभिटी विस्तारलगायतका विषयमा छलफल भएको थियो। भ्रमणका क्रममा नेपाल र भारतबीच काठमाडौं–भैरहवा–लखनऊ हवाई मार्गलाई दुईतर्फी बनाउने सहमति भएको छ। त्यस्तै, नेपालले तेस्रो मुलुकसँगको व्यापारका लागि भारतका गुजरातस्थित कान्डला र ओडिसास्थित पारादीप बन्दरगाह प्रयोग गर्न पाउने सहमति पनि भएको छ।

यसैगरी, अयोध्या–जनकपुरधामबीच सरयू–कमला एक्सप्रेस रेलसेवाको संयुक्त उद्घाटन गरिएको छ। दुई धार्मिक नगरीलाई रेलमार्गबाट जोड्ने यो सहमतिलाई धार्मिक पर्यटन तथा सांस्कृतिक सम्बन्ध विस्तारका दृष्टिले महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। भ्रमणका क्रममा भारतले नेपाललाई आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेको छ। भारतीय प्रधानमन्त्री मोदीले संयुक्त पत्रकार सम्मेलनमार्फत दुई खर्ब ४० अर्ब भारुको आर्थिक सहयोग घोषणा गरेका थिए। यद्यपि उक्त रकममध्ये अनुदान र सहुलियतपूर्ण ऋणको हिस्सा कति रहने भन्ने विस्तृत विवरण सार्वजनिक गरिएको छैन।

त्यस्तै, नेपाल–भारत संयुक्त लगानीमा निर्माण हुने ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको पनि दुवै देशका प्रधानमन्त्रीले भर्चुअल माध्यमबाट शिलान्यास गरेका छन्। आयोजना निर्माणले नेपालको ऊर्जा उत्पादन र पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। भ्रमणका क्रममा फरेन्सिक विज्ञान, प्रहरी प्रशिक्षण, प्रशासनिक तालिम, आयुर्वेद, स्याटेलाइट सञ्चार, सहरी विकास, स्वास्थ्य सेवा, पशुपालन तथा मत्स्यपालनलगायतका क्षेत्रमा पनि दुई देशबीच सहकार्य गर्ने सहमति भएको छ।

भारतीय प्रधानमन्त्री मोदीले संयुक्त पत्रकार सम्मेलनका क्रममा प्रधानमन्त्री शाहको स्पष्ट दृष्टिकोण र प्रतिबद्धताको प्रशंसा गर्दै नेपालको विकास यात्रामा भारत सधैँ साथमा रहने बताएका थिए।
प्रधानमन्त्री शाहको यो भ्रमणलाई नेपाल–भारत सम्बन्धलाई थप उचाइमा पुर्‍याउने तथा व्यापार, पर्यटन, ऊर्जा, यातायात र पूर्वाधार विकासमा नयाँ सहकार्यको आधार तयार गर्ने महत्वपूर्ण भ्रमणका रूपमा हेरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय