नयाँ दिल्ली – भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई सोमबार बिहान नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा भारतीय सेनाको एक टुकडीले ‘गार्ड अफ अनर’ प्रदान गरेको छ। राष्ट्रपति भवन परिसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शाहलाई न्यानो स्वागत गरेका थिए। स्वागतका क्रममा दुवै प्रधानमन्त्रीले अंकमालसमेत गरेका थिए। गार्ड अफ अनर ग्रहण गरेपछि प्रधानमन्त्री शाह महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेका थिए। त्यहाँ उनले गान्धीको समाधिमा पुष्पहार अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरे। राजघाटस्थित आगन्तुक पुस्तिकामा प्रधानमन्त्री शाहले महात्मा गान्धीप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दै करुणा नै सर्वोच्च शक्ति र निस्वार्थ सेवा नै साँचो नेतृत्व भएको उल्लेख गरेका छन्।
भगवान् बुद्धको जन्मभूमि नेपालबाट आएको सन्दर्भ जोड्दै उनले गान्धीको विरासतमा करुणा र सेवाको अमर ज्योति देखेको बताएका छन्। नेपाल र भारत साझा भूगोलले मात्र नभई आस्था, आत्मीयता र चिरस्थायी मित्रताको विरासतले बाँधिएको उल्लेख गर्दै उनले पारस्परिक सम्मान, इमानदारी र अटल विश्वासका साथ दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। राजघाट कार्यक्रमपछि प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा एक्लाएक्लै भेटवार्ता भएको थियो। त्यसपछि दुवै देशका प्रधानमन्त्रीसहित उच्चस्तरीय प्रतिनिधिमण्डलको सहभागितामा प्रतिनिधिमण्डलस्तरीय बैठक सुरु भएको थियो।



भेटवार्ताका क्रममा दुवै प्रधानमन्त्रीले उपहार आदानप्रदानसमेत गरेका छन्। प्रधानमन्त्री शाहले मोदीलाई कलात्मक काठको बट्टाभित्र राखेर पशुपतिनाथ मन्दिरको चन्दन, रुद्राक्ष र शालिग्रामसहितको उपहार सेट प्रदान गरेका थिए। उक्त उपहार व्यक्तिगत रूपमा प्रदान गरिएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ। त्यस्तै, नेपाली दूतावासका तर्फबाट मोदीलाई मच्छिन्द्रनाथसँग सम्बन्धित उपहारसमेत प्रदान गरिएको सचिवालयले जनाएको छ। जवाफमा भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाहलाई गंगाजल राखिएको घडा उपहार दिएका छन्।
नेपाललाई विशेष आर्थिक प्याकेजदेखि बन्दरगाहसम्म
प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा विभिन्न विकास परियोजना, पूर्वाधार, ऊर्जा, यातायात तथा व्यापारसम्बन्धी विषयमा सहकार्यका प्रस्ताव अघि बढेका छन्। भ्रमणका क्रममा तयार भएको भनिएको अन्तिम उपलब्धिको विवरणअनुसार भारतले नेपाललाई विशेष आर्थिक प्याकेज उपलब्ध गराउने विषय प्रमुख उपलब्धिका रूपमा उल्लेख गरिएको छ। यद्यपि उक्त प्याकेजको रकम भने खुलाइएको छैन। त्यस्तै, नेपालले भारतको गुजरातस्थित कान्दला र ओडिशास्थित पारादीप बन्दरगाह प्रयोग गर्न पाउने विषय पनि प्रमुख उपलब्धिका रूपमा उल्लेख छ। नेपालले गुजरातको मुन्द्रा बन्दरगाह प्रयोगका लागि माग गरे पनि भारतले त्यसमा सहमति नजनाएको विवरणमा उल्लेख छ। यसैगरी, अयोध्यादेखि जनकपुरसम्म रेल सेवा सञ्चालन गर्ने विषय पनि भ्रमणको प्रमुख उपलब्धिमा समेटिएको छ। भारतले उक्त रेल सेवालाई ‘सर्यु–कमला एक्सप्रेस’ नाम दिएको छ। भ्रमणका क्रममा दुवै प्रधानमन्त्रीले उक्त रेल सेवाको उद्घाटन गर्ने कार्यक्रमसमेत तय गरिएको विवरणमा उल्लेख छ।
चितवनमा औद्योगिक पार्कदेखि दार्चुलामा मोटरेबल पुलसम्म
भारतले चितवनमा एग्रो इन्डस्ट्रियल पार्क निर्माणमा सहयोग गर्ने भएको छ। त्यस्तै, काठमाडौंलाई भारतको रक्सौलसँग जोड्ने रेल सेवाको विस्तारका लागि अन्तिम अध्ययन प्रतिवेदन तयार गर्ने विषय पनि समेटिएको छ। भारतको धार्चुलादेखि नेपालको दार्चुलासम्म मोटरेबल पुल निर्माण गर्ने विषय पनि भ्रमणका उपलब्धिमा उल्लेख छ। यसैगरी, झापामा पेट्रोलियम टर्मिनल निर्माण र बनबासा–दोधारा चाँदनी क्षेत्रमा एकीकृत जाँच चौकी निर्माणको शिलान्यास गर्ने कार्यक्रमसमेत विवरणमा समावेश छ। ऊर्जा तथा इन्धन पूर्वाधारतर्फ तल्लो अरुण जलविद्युत् परियोजनाको शिलान्यास गर्ने विषय उल्लेख गरिएको छ। मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन, सिलिगुडी–झापा ग्यास पाइपलाइनलगायत परियोजनामा समेत सहकार्य गर्ने विषय अघि सारिएको छ।
रेल, शिक्षा र व्यापारिक सहकार्यमा जोड
नेपाल र भारतबीच रेल सञ्जाल विस्तारलाई पनि प्राथमिकतामा राखिएको छ। जयनगर–बर्दिबास र जोगबनी–विराटनगर रेल सेवासँगै बर्दिबास–निजगढ तथा वीरगञ्ज–निजगढ रेल लिंकमा सहकार्य गर्ने विषय समेटिएको छ। त्यस्तै, टेलिकम तथा बैंकिङ सुविधामा सहजीकरण गर्ने र भारतीय प्राविधिक संस्थान (आईआईटी) का शाखा क्याम्पस नेपालमा विस्तार गर्ने विषय पनि भ्रमणका उपलब्धिको विवरणमा उल्लेख छ।
संयुक्त सम्बोधन र औपचारिक कार्यक्रम
दुई देशका प्रधानमन्त्रीबीचको भेटवार्ता तथा प्रतिनिधिमण्डलस्तरीय बैठकपछि विभिन्न विकास परियोजनाको भर्चुअल उद्घाटन, समझदारीपत्र तथा सम्झौताहरू आदानप्रदान र सञ्चारमाध्यमलाई संयुक्त सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ। त्यसपछि भारतीय प्रधानमन्त्री मोदीले आयोजना गर्ने दिवाभोजमा प्रधानमन्त्री शाह सहभागी हुनेछन्। दिउँसो ३ः१५ बजे राष्ट्रपति भवनमा भारतीय राष्ट्रपतिसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ। भ्रमणका सबै औपचारिक कार्यक्रम सम्पन्न गरेपछि प्रधानमन्त्री शाह सोमबार साँझ ४ः५० बजे नयाँ दिल्लीबाट काठमाडौंका लागि प्रस्थान गर्ने र साँझ ६ः३५ बजे काठमाडौं आइपुग्ने कार्यतालिका रहेको छ। नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यसहित भएको प्रधानमन्त्री शाहको यस भ्रमणमा विशेषगरी ऊर्जा, पूर्वाधार, रेलमार्ग, व्यापार तथा पारवहन सुविधालाई प्राथमिकतामा राखिएको छ।



