काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गर्नुभएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उहाँ आइतबार दिउँसो १ः४५ बजे नेपाल वायुसेवाको नियमित उडानबाट नयाँदिल्ली प्रस्थान गर्नुभएको हो। प्रधानमन्त्री शाह नेतृत्वको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन, राजनीतिक सल्लाहकार असीम शाहलगायत उच्च अधिकारी, व्यवसायी तथा सञ्चारमाध्यमका प्रतिनिधिसहित ३५ जना सहभागी छन्।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नुहुनेछ भने सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम छ। आइतबार भारतीय विदेशमन्त्री एस। जयशंकरले पनि प्रधानमन्त्री शाहसँग भेटवार्ता गर्नुहुनेछ। वार्तामा व्यापार, पारवहन, लगानी, ऊर्जा, हवाई तथा अन्य सम्पर्क सञ्जाल र पूर्वाधार विकासलगायतका विषयमा छलफल हुनेछ। साथै शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकासका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा विभिन्न समझदारीपत्र आदानप्रदान गर्ने कार्यक्रम छ।

भ्रमणका अवसरमा नेपाल–भारतबीच ऊर्जा सहकार्य र सम्पर्क सञ्जाल विस्तारसम्बन्धी सम्पन्न परियोजनाको उद्घाटन तथा नयाँ परियोजनाको शिलान्याससमेत गरिनेछ। प्रधानमन्त्री शाह सोमबार साँझ ६ः३५ बजे नेपाल वायुसेवाको नियमित उडानबाट स्वदेश फर्कने कार्यक्रम रहेको छ। भ्रमण टोली फर्किएपछि परराष्ट्रमन्त्री शिशिर खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरी भ्रमणका उपलब्धिबारे जानकारी गराउनुहुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय