नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अघिल्लो पटकको भन्दा धेरै सिट जित्ने गरी चुनावको तयारीमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिनुभएको छ । भैरहवामा पार्टीको क्षेत्रीय सभापतिहरुको दुई दिने प्रशिक्षण उद्घाटनमा सभापति देउवाले चुनावमा एउटामात्र दलले बहुमत ल्याउने परिस्थिति नभएको भन्दै उनले अघिल्लो चुनावमा भन्दा बढी सिट जित्नुपर्नेमा जोड दिनुभयो ।

पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा शुरु भएको प्रशिक्षणमा संघीय र प्रदेश सभा निर्वाचन क्षेत्रका सभापति र प्रशिक्षण शाखा प्रमुखसमेत गरी ३३० जना सहभागी छन् । प्रशिक्षणमा कांग्रेसले अहिलेसम्म गरेका नीतिगत सुधार, भौतिक पूर्वाधारलगायत उपलब्धि, संविधान र देशको विकासका लागि कांग्रेसले खेल्नुपर्ने भूमिका, आउँदो महाधिवेशन, क्रियाशील सदस्य र आमचुनाव गरी विभिन्न ६ वटा विषयमा प्रस्तुति रहनेछन् । क्षेत्रीय सभापतिहरूले वर्तमान सरकारका काम कारबाहीबारे आलोचनात्मक सुझाव दिने र सरकारमा सहभागी दुई जना मन्त्रीले त्यसको जवाफ दिने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ । प्रशिक्षण कार्यक्रममा सभापति देउवा, महामन्त्रीहरुसहित शीर्ष नेताहरु सहभागी छन्। तर कार्यक्रमका लागि निम्तो दिइए पनि नेता शेखर कोइराला भने उपस्थित हुनुहुन्न । कोइराला विराट गोल्डकपको उद्घाटन समारोहमा सहभागी हुन जाने बताइएको छ । यसअघि पोखरामा कांग्रेसका जिल्ला सभापतिहरुको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा कोइरालालाई नबोलाइएको भन्दै नेतृत्वको आलोचना भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय