काठमाडौं । सहकारी ठगीमा रास्वपा सभापति रवि लामिछाने पक्राउ परे पनि अरु आरोपी पक्राउ नपर्दा सरकारमाथि राजनीतिक प्रतिशोधको आरोप लागेको छ । सहकारी ठगीमा नाम जोडिएका एमाले नेता ऋषिकेश पोखरेल, कांग्रेस उपसभापति धनराज गुरुङलगायत अहिलेसम्म पक्राउ परेका छैनन् ।

संसदीय छानबिन समितिले कारबाहीको सिफारिस गरेका अरु थुप्रै व्यक्तिहरु खुलेआम हिँडिरहेका छन् जो कांग्रेस एमाले निकट नै हुन् । जसका कारण सरकारको नियत आफ्नालाई जोगाउने र अरुलाई थुनाउने देखिएको आरोप लागेको छ ।

श्रीमतीको माध्यमबाट सहकारीको रकम अपचलन गरेको आरोप लागेका कांग्रेस उपसभापति धनराज गुरुङ अहिलेसम्म निर्धक्क हिँडिरहनु भएको छ ।

यस्तै प्रकृतिबाट श्रीमतीमार्फत् नै सहकारीको रकम अपचलनमा संलग्नताको आरोप लागेका एमाले नेता तथा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल पनि सरकारी ढुक्कसँग बसिरहनु भएको छ । तर संसदीय छानबिन समितिले यी दुवै नेतामाथि अनुसन्धान गर्नुपर्ने निश्कर्ष र सुझाव सरकारलाई दिएको छ । यी दुई मात्र होइन सहकारी ठगी प्रकरणमा नाम मुछिएका, ठगेर फरार भएका वा पक्राउ नै परेकाहरुको अनुसन्धानसमेत राम्रोसँग अघि बढेको छैन । जसका कारण विपक्षी दलहरुलाई सरकारमाथि राजनीतिक प्रतिशोधको आरोप लगाउन सहज भएको छ ।

प्रचण्ड मात्र होइन राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा त रवि लामिछानेको पक्राउलाई प्रतिशोध नै भनेर निरन्तर विरोध प्रदर्शनमा छ । सहकारी ठगी आरोपमा पक्राउ परिसकेका एमाले नेता डीबी बस्नेत, केवी उप्रेती, देवकुमार नेपाली लगायतहरुको मुद्दा अघि बढेको छैन ।

त्यस्तै नेपाली कांग्रेस सम्बद्ध सुरेन्द्र भण्डारी र सीबी लामालाई पनि प्रहरीले पक्राउ त गरेको छ तर थप अनुसन्धान नगरी मुद्दा थन्काएर राखेको आरोप सरकारमाथि लागेको छ । कांग्रेस नेताहरुले नै सहकारी ठगीका आरोपीमाथि छानबिनको माग गरिरहँदा पनि सरकारले यो कुरा सुनेको छैन ।

यो पर्दा अगाडिको माग भएपनि पर्दापछाडिका गतिविधिले सत्तारुढ दलका नेताहरुलाई जोगाइरहेको घटनाक्रमहरुले देखाएका छन् । तर सत्तारुढ दलहरु यो स्वीकार गर्न तयार छैनन् ।
सत्तारुढ दलका नेताहरुले सत्तापक्ष र प्रतिपक्ष भनेर सरकारले भेदभाव नगरेको दाबी गरे पनि व्यवहारत सरकारले निकटस्थहरुलाई जोगाएकै देखिन्छ । संसदीय छानबिन समितिले सहकारीको ८७ अर्ब रुपैयाँ अपचलन भएको निश्कर्ष निकालेको छ । यो रकम अपचलन गर्नेमा धेरैजसो कांग्रेस एमालेकै नेताहरु भएको प्रष्ट छ । किनकी अधिकांश सहकारीमा कांग्रेस एमालेकै नेताहरुको रजगज छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय