भक्तपुरको गुण्डु र ललितपुरको च्यासलबाट सरकारविरुद्ध आक्रोश पोखिरहेको नेकपा एमाले आज सडक संघर्षमै उत्रिएको छ । त्यसो त, यसअघि सबै जिल्लामा डेमो प्रदर्शन गरिसकेको एमालेले सडक संघर्षलाई थप व्यापक बनाउँदै प्रतिनिधिसभा पुनस्र्थापनाका लागि दबाब बढाउने रणनीति लिएको थियो । आज भृकुटीमण्डमा भेला भएका हजारौँ कार्यकर्ताबीच अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको वैधानिकतामाथि बारम्बार प्रश्न उठाउनुभयो ।

जेनजी आन्दोलनपछि सैन्य सुरक्षाबाट भक्तपुरको गुण्डुस्थित नयाँ निवासमा पुगेदेखि नै एमाले अध्यक्ष केपी शर्मा ओली वर्तमान सरकारको वैधानिकतामाथि प्रश्न गरेकोगर्यै हुनुहुन्छ । शुक्रबार मात्रै एक बैंक्वेटमा भोलेन्टियर फोर्स गठन गर्दै ओलीले सरकारको संवैधानिकतामाथि प्रश्न उठाउनुभयो । त्यसको भोलिपल्ट भृकुटीमण्डबाट त्यही कुरा दोहोर्याउनुभयो । सरकारको वैधतामाथि प्रश्न उठाइरहनुभएका ओलीले निर्वाचनबारे पनि आशंका गरिरहनुभएको छ । निकट विगतको सत्तायात्री नेपाली कांग्रेसले सानेपाबाट निर्वाचनमा जाने निर्णय गरिरहँदा ओलीले भृकुटीमण्डपमा उभिएर निर्वाचनको वातावरण नभएको जिकिर गरिरहनुभयो ।

कार्यक्रममा महासचिव शंकर पोखरेलले समेत ओलीकै शब्द दोहोर्याउँदै निर्वाचनको तयारी, सुरक्षा र सकरारको नियतमाथि प्रश्न गर्नुभयो । नेकपा एमालेले यसअघि देखि नै सरकारको वैधतामाथि प्रश्न उठाइरहेको छ । प्रतिनिधिसभा पुनस्र्थापनाका लागि सडक संघर्ष गर्ने र रिट लिएर सर्वोच्च अदालत जाने निर्णयसमेत गरिसकेको छ । अदालत जाने तयारीस्वरुप तत्कालीन सांसदहरुलाई खाली कागजमा हस्ताक्षर गराउने काम पनि एमालेले गरिसकेको अवस्था छ ।

पछिल्ला केही दिनयता एमालेले बढाएको सक्रियताले एकातिर निर्वाचनको तयारीसमेत गरिरहेको पनि प्रतीत हुन्छ, तर त्यसभन्दा बढी निर्वाचनको वातावरण विथोलिने गरी गतिविधिहरु जारी राखेको छ । बाराको सिमरामा जेनजी युवासँग भएको झडपमा समेत एमालेको संलग्नता बढी देखिएको प्रारम्भिक आकलन छ । त्यसलगत्तै भोलेन्टियर फोर्सका नाममा लडाकु दस्ता बनाएर वातावरण थप त्रासपूर्ण बनाउने काम भएको छ । यसले एमालेले वर्तमान सरकारलाई घुँडा नटेकाइ नछोड्ने रणनीति लिएको देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय