१५ दिने मिथिला माध्यमिकी परिक्रमा टोली विहिवार जनकपुरधाम आइपुगेर शुक्रवार अन्तरगृह परिक्रमा भएसंगै मिथिला मध्यमा परिक्रमा सम्पन्न भएको छ । यस संगै अव तराई मधेश र मिथिलामा कतै आज र अधिकांशमा भोली होली मनाइने छ ।नेपाल–भारतका विभिन्न ठाउँको परिक्रमा गर्दै आएको परिक्रमा टोली आज अन्तरगृह परिक्रमा गरेको हो । परिक्रमामा धनुषा, महोत्तरी र भारतको बिहारका सीमावर्ती क्षेत्रमा अवस्थित धार्मिक स्थलहरूको १ सय ७ किलोमिटर र सीमावर्ती क्षेत्र भारतको २६ किलोमिटर गरी १ सय ३३ किलोमिटर दूरी पैदल यात्रा गर्दै साधुसन्त तथा श्रद्धालुहरू जनकपुरधाम आउने गर्दछन ।



परिक्रमामा सहभागी साधुसन्त तथा भक्तजनहरू जनकपुरधाममा विहिवार विश्राम गरी आज विहान नगरको परिक्रमा गरेको छ । जनकपुरधाममा हुने परिक्रमालाई अन्तगृह परिक्रमा भनिन्छ । १५ दिने परिक्रमामा सहभागी हुन नसेकाहरू पनि छोटो दूरीको अन्तरगृह परिक्रमामा सहभागिता जनाउँछन् । यसमा सहभागि हुनेले समेत सोहि बराबरको फल पाउने जनबिश्वास छ । यो पाँच कोसको परिक्रमा हुने भएकाले पञ्चकोशी परिक्रमाले पनि जानिन्छ ।
प्रारम्भमा धनुषाको मिथिला बिहारी नगरपालिकाको कचुरीस्थित मिथिला बिहारी मन्दिरबाट भगवान श्री सिताराम मिथिला विहारीको डोला निस्किएको थियो । परिक्रमा यात्राका क्रममा नेपालमा १३ तथा भारतमा २ गरी १५ विश्रामस्थल छन् । परिक्रमामा जनकपुरधामको हनुमानगढीबाट कल्याणेश्वर हुँदै फूलहर, मठिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कन्चनवन, पर्वत्ता, धनुषाधाम, सतोषर, औरही, करुणा, विषौल र पुनः कल्याणेश्वर पुगेर पुनः जनकपुर फर्किएर फागू पूर्णिमाका दिन नगरको पाँचकोशे अन्तर्गृह परिक्रमा गरी सम्पन्न हुन्छ ।
अन्तरगृह परिक्रमाको क्रममा पनि जनकपुरधामको विभिन्न संघ संस्था तथा सामुदायिक संगठनहरुले तिर्थयात्रीहरुलाई मध्येनजर गर्दै पानी, सरवत, औषधी उपचार सहित, खाजा र खानाको पनि व्यवस्था गरि यो एतिहाँसिक यात्रालाई सघाउने काम गरेको छ । एता मिथिला नाटयकला परिषद मिनापले विगत २९ वर्ष देखि हरेक वर्ष प्रदान गर्दै आएको महामुर्खको मानपदवी आज प्रदान गर्ने कार्यक्रम छ । मिनापले हरेक वर्ष दुई दिवसीय कार्यक्रम गरि पहिलो दिन होलीको लोकगायन होरैयाको प्रतिस्पर्धात्मक कार्यक्रम र दोस्रो दिन महामुर्ख सम्मेलन गर्दै आएको छ । यस वर्षको महामुर्ख मुख्यमन्त्री सतिश कुमार सिंह हुने अनुमान छ ।



