रसुवा – २१६ मेगावाट क्षमताको अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट एक जना चिनियाँ नागरिकको उद्धार गरिएको छ। नेपाली सेनाले केहीबेरअघि उद्धार गरिएका चिनियाँ नागरिकको तस्वीर सार्वजनिक गर्दै उनको उद्धार भएको जानकारी दिएको हो। बाढीका कारण आयोजनाको सुरुङ तथा आसपासका क्षेत्रमा कामदार सम्पर्कविहीन भएपछि नेपाली सेना, प्राविधिक तथा उद्धार टोलीले खोजी र उद्धार कार्यलाई निरन्तरता दिँदै आएका छन्। सोही क्रममा सुरुङबाट एक जना चिनियाँ नागरिकलाई सकुशल उद्धार गरिएको हो।



यसअघि शुक्रबार त्रिशूली–३ ए जलविद्युत् आयोजनाबाट दुई जनाको उद्धार गरिएको थियो। बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाका सुरुङ तथा संरचनामा फसेका कामदारको खोजी तथा उद्धार कार्य जारी छ। अपर त्रिशूली–१ को निर्माण कार्य चिनियाँ ठेकेदार कम्पनीको नेतृत्वमा भइरहेको छ। आयोजनामा ठूलो संख्यामा नेपाली तथा विदेशी कामदार कार्यरत थिए।
बाढीका कारण आयोजनास्थलसम्म पुग्ने सडक तथा पहुँच मार्गमा समेत क्षति पुगेकाले उद्धार तथा राहत कार्य चुनौतीपूर्ण बनेको छ। सुरुङभित्र जम्मा भएको लेदो, माटो, ढुंगा तथा भग्नावशेषका कारण खोजी कार्य थप जटिल बनेको छ। नेपाली सेना तथा सम्बन्धित प्राविधिक टोलीले उपलब्ध स्रोतसाधन प्रयोग गरी अन्य सम्पर्कविहीन कामदारको खोजीलाई निरन्तरता दिइरहेका छन्।



