रसुवा – भदौ १० गते आएको विनाशकारी बाढीका कारण सडक सञ्जाल विच्छेद भएपछि इन्धन अभाव झेलिरहेको रसुवामा अमेरिकी गैरनाफामूलक संस्था फ्युल रिलिफ फण्डले निःशुल्क पेट्रोलियम पदार्थ वितरण गरेको छ। संस्थाले जिल्ला सदरमुकाम धुन्चेमा पुगेर बाढीका कारण इन्धन संकटमा परेका सवारीसाधनलाई निःशुल्क पेट्रोल वितरण गरेको हो। सडक सम्पर्क टुटेपछि जिल्लामा पेट्रोलियम पदार्थको अभाव चुलिँदा दैनिक आवागमन तथा राहत व्यवस्थापनमा समेत समस्या उत्पन्न भएको थियो।

फ्युल रिलिफ फण्डले विशेषगरी मोटरसाइकललाई प्रतिवाहन ५ लिटरका दरले निःशुल्क इन्धन उपलब्ध गराएको जनाएको छ। यस्तै, जिल्लाभित्र सञ्चालन हुने एम्बुलेन्स, विद्यालयका बस तथा राहत सामग्री ढुवानीमा प्रयोग हुने सवारीसाधनलाई समेत निःशुल्क इन्धन वितरण गरिएको संस्थाका प्रतिनिधि जोसेफले बताए।

प्राकृतिक विपत्तिका समयमा इन्धन अभावका कारण राहत तथा उद्धार कार्य प्रभावित नहोस् भन्ने उद्देश्यले सहयोग गरिएको संस्थाको भनाइ छ। बाढीपछि सडक अवरुद्ध हुँदा रसुवामा इन्धन आपूर्ति प्रभावित बनेको अवस्थामा गरिएको निःशुल्क वितरणले स्थानीयवासी तथा अत्यावश्यक सेवाका सवारीसाधनलाई प्रत्यक्ष राहत पुगेको छ।

फ्युल रिलिफ फण्डले विश्वका विभिन्न स्थानमा बाढी, पहिरो, भूकम्पलगायत प्राकृतिक विपत्तिका समयमा प्रभावित समुदायलाई निःशुल्क इन्धन सहयोग गर्दै आएको जनाएको छ। रसुवामा गरिएको पछिल्लो सहयोगले विपद्को समयमा अत्यावश्यक सेवा सञ्चालन तथा स्थानीयको आवागमन सहज बनाउन महत्वपूर्ण योगदान पुगेको स्थानीयको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय