मुलुकको शिथिल अर्थतन्त्र उकास्न सरकारले एक साथ ५ वटा विशेष प्याकेज ल्याउने भएको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले त्यसको लागि आवश्यक तयारीको काम भइरहेको जनाउ दिनुभएको छ। जसमा भोटेकोशी बाढीको राहत प्याकेजदेखि अर्थतन्त्रको शिथिलता अन्त गर्दै लगानी बढाउने र शेयर बजारको सुधारसम्म केन्द्रित छन् । हेरौं सरकारले ल्याउन लागेको आर्थिक सुधारका ५ प्याकेज के हुन ?

भदौ १० गते भोटेकोसी नदीमा आएको प्रलयकारी बाढीले अर्बौँको भौतिक एवं आर्थिक क्षति निम्त्यायो । यसअघि नै अस्थिर नीति, सुस्त कर्जा प्रवाह र लगानीको वातावरण नबनेको भन्दै निराश बनेको निजी क्षेत्रलाई यो विपत्तिले थप निराश बनायो । यही जगमा उभिएर विस्थापितको पुनर्स्थापनासँगै सुस्त अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले ५ वटा विशेष प्याकेज ल्याउने भएको छ। अर्थमन्त्री स्वर्णीम वाग्लेले त्यसका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको जनाउ दिनुभएको छ।

के हुन् त सरकारले ल्याउन लागेका ५ प्याकेज ?

१. भोटेकोशी बाढीको क्षति र पुनरुत्थान
भदौ १० गतेको भोटेकोशी बाढीले निम्त्याएको विनाशबाट तङग्रिन सरकारले ३(४ तहमा काम गरिरहेको जनाएको छ । सरकारले तत्कालीन रिकभरीका लागि २० वटा बुँदामा प्याकेज ल्याइसकेको छ। बाढी प्रभावित उद्योगी र सर्वसाधारणको अध्ययन भइरहेकाले छिट्टै राहत, पुनर्स्थापना र पुनर्निर्माणका प्याकेज सार्वजनिक गर्ने जनाएको छ।

२. निजी क्षेत्रको आत्मविश्वास अभिवृद्धिमा जोड
दोस्रो प्याकेजमा निजी क्षेत्रको पुनरुत्थानमा केन्द्रित हुने जनाइएको छ । लामो समयदेखि कमजोर रहेको निजी क्षेत्रको मनोबल फर्काउन, बन्द वा क्षमताभन्दा कम संचालन भइरहेका उद्योगहरुलाई पुनः चलायमान बनाउन वा नयाँ लगानीलाई प्रोत्साहन गर्न विशेष प्याकेज ल्याउने तयारी सरकारको छ। यो प्याकेजले ठूलादेखि साना उद्यमी, स्टार्टअप र विदेशी लगानीकर्तासम्मलाई समेट्ने बताइएको छ।

३. शेयर बजारमा सुधार
शेयर बजारलाई व्यवस्थित र सुदृढ बनाउन सरकारले विशेष योजना ल्याउँदैछ । अर्थतन्त्रको ऐनको रुपमा लिइने शेयर बजारलाई पारदर्शी र भरपर्दो बनाउनु यसको मुख्य उद्धेश्य रहेको बताइएको छ। त्यसका लागि १० देखि १२ बुँदे नीतिगत सुधार कार्यक्रम सार्वजनिक गर्ने तयारी भइरहेको जनाइएको छ ।

४. ग्रे लिस्टबाट बाहिरिनु
चौथो प्याकेज अन्तर्गत नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट बाहिर ल्याउनु रहेको छ । २ वर्षको समय आगामी फागुनमा सकिन लागेकाले त्यो समयभित्रै ग्रे लिस्टबाट बाहिर निस्कने गरी सुधारका कामहरुलाई प्राथमिकताका साथ अघि बढाउने गरी प्याकेज सार्वजनिक हुनेछ ।

५. विपत्ति पछिको पुनर्निर्माण
भोटेकोशी बाढीबाट भएको क्षतिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय वित्त परिचालनमा केन्द्रित भएर काम भइरहेको जनाइएको छ । पुनर्निर्माणलाई पुरानै संरचनामा फर्काउने मात्र होइन, क्लाइमेट रेलिलिएन्ट पूर्वाधार निर्माण गर्ने अवसरका रुपमा प्रयोग गर्ने गरी पुनरुत्थान र पुनर्निर्माणको प्याकेज ल्याउने तयारीमा रहेको अर्थमन्त्री स्वर्णिम वाग्लेले जानकारी दिनुभएको छ। यी विशेष प्याकेजका कार्यक्रमको कार्यान्वयनले शिथिल अर्थतन्त्र चलायमान हुनुका साथै लगानी, उत्पादन र रोजगारी वृद्धि हुने विश्वास सरकारको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय