काठमाडौं । अविरल वर्षाका कारण मकवानपुर जिल्लाका विभिन्न स्थानमा बाढी, पहिरो तथा खोलानालामा पानीको बहाव बढेपछि दुई प्रमुख सडकखण्डमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।



जिल्ला प्रशासन कार्यालय मकवानपुरले एक सूचना जारी गर्दै निरन्तर वर्षाका कारण विभिन्न सडकखण्ड अवरुद्ध भएको र यात्रु तथा सवारी साधनको सुरक्षालाई मध्यनजर गर्दै अस्थायी रूपमा यातायात सञ्चालन रोकिएको जनाएको हो ।
प्रशासनका अनुसार हेटौँडा–ठिंगन–बागमती–ललितपुर सडकखण्ड अन्तर्गत चौघडा क्षेत्रमा अर्को सूचना जारी नभएसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।
त्यसैगरी हेटौँडा–भैँसे–भीमफेदी–देउराली–सिस्नेरी–काठमाडौं सडकखण्डमा पनि असार ३० गते बिहान ५ बजेसम्म सवारी आवागमन बन्द गरिएको प्रशासनले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयले सम्बन्धित सुरक्षा निकाय, यातायात व्यवसायी, चालक तथा सर्वसाधारणलाई तोकिएको समय र स्थानमा सवारी साधन सञ्चालन नगर्न तथा सुरक्षित स्थानमा रहन आग्रह गरेको छ ।
साथै, मौसम तथा सडक अवस्थासम्बन्धी आधिकारिक सूचना निरन्तर पालना गर्न, अनावश्यक यात्रा नगर्न र सम्भावित दुर्घटनाबाट जोगिन विशेष सावधानी अपनाउन प्रशासनले अनुरोध गरेको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीद्वारा जारी सूचनामा वर्षा जारी रहेकाले जोखिमयुक्त क्षेत्रमा सतर्कता अपनाउन र सम्बन्धित निकायको निर्देशन पालना गर्न सबैमा अपिल गरिएको छ ।



