जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले तराई भू–भागमा आगामी केही दिनसम्म तातो हावा तथा ‘लू’ लाग्न सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रहसमेत गरेको छ ।

तराईका धेरैजसो भू–भागमा अधिकतम र न्यूनतम तापक्रम क्रमिक रूपमा बढ्दै गएकाले लूको जोखिम रहेको महाशाखाले जनाएको छ । विगत केही दिनयता बढेको अत्यधिक गर्मीका कारण धनुषा, बारा, पर्सासहित तराई मधेसका जिल्लाको जनजीवन कष्टकर बनेका छन् । तराई मधेसमा ४० देखि ४४ डिग्री सेल्सियससम्म तापक्रम वृद्धि भएको छ । लगातार पाँच दिनसम्म ४० डिग्रीभन्दा माथि तापक्रम बढेमा लू चलेको मानिन्छ ।

वर्षा नहुँदा सुक्खापन चलेकाले तापक्रम बढेर लू चलेको महाशाखाले जनाएको छ । साथै पहाडी भू–भागका उपत्यका तथा खोँचमा समेत तापक्रम क्रमिक रूपमा बढ्न सक्ने सम्भावना रहेकाले महाशाखाबाट हरेक दीन जारी हुने सूचना तथा पूर्वानुमानमा अद्यावधिक रहन पनि सबैमा अनुरोध गरेको छ ।

महाशाखाका अनुसार विगत केही दिनदेखि देशका अधिकांश भू–भागको अधिकतम तथा न्यूनतम तापक्रम वृद्धि भइरहेको छ । तातो हावा तथा लूबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, पानी तथा झोल पदार्थ प्रशस्त मात्रामा पिउने पनि महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय