काठमाडौं — नेवार समुदायले परम्परागत रूपमा मनाउँदै आएको घण्टाकर्ण पर्व आज विभिन्न धार्मिक तथा सांस्कृतिक विधि पूरा गरी मनाइँदै छ। श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई गठामङ्गल पनि भनिन्छ। नेवार समुदायको मौलिक सांस्कृतिक पर्वका रूपमा रहेको घण्टाकर्णमा घर–आँगनको सरसफाइदेखि राक्षसको प्रतीक निर्माण गरी विसर्जन गर्नेसम्मका विभिन्न परम्परा निभाइन्छ।

परापूर्वकालदेखि मनाउँदै आएको यस पर्वमा गठामङ्गल नाम गरेको नरभक्षी राक्षसको वध भएको स्मरण गरिन्छ। सोही घटनाको प्रतीकका रूपमा हरियो नर्कट, निगालो वा गहुँको छ्वालीलगायत सामग्री प्रयोग गरी तीनखुट्टे राक्षसको आकृति बनाउने चलन छ। उक्त आकृति दोबाटो तथा चौबाटोमा उभ्याएर दिनभर राख्ने गरिन्छ।

घण्टाकर्ण पर्वको तयारी बिहानैदेखि सुरु हुन्छ। पर्वका दिन स्नान गरी घर तथा घरआँगन सफा गर्ने, पूजापाठ गर्ने र धार्मिक विधिअनुसार पूजा आराधना गर्ने परम्परा छ। यस दिन घर तथा वरपरको वातावरण सफा गरेर नकारात्मकता हटाउने विश्वाससमेत गरिन्छ।

पर्वका क्रममा बालबालिकाको सहभागिता पनि विशेष रहने गर्छ। उनीहरूले बाटोमा डोरी टाँगेर हिँड्ने मानिससँग पैसा अर्थात् ‘जगात्’ माग्ने चलन छ। यसरी संकलन गरिएको रकमलाई पर्वसँग जोडिएको परम्परागत गतिविधिका रूपमा लिइन्छ।

दिनभर राखिएको गठामङ्गलको प्रतीकलाई साँझपछि विशेष विधिका साथ विसर्जन गरिन्छ। राति राँको बालेर गठामङ्गलको प्रतीकलाई घिसार्दै लगेर जलाउने गरिन्छ। यसरी राक्षसको प्रतीक जलाएर खराब तथा नकारात्मक शक्तिको अन्त्य भएको विश्वास गर्ने धार्मिक मान्यता छ।

इतिहास एवं संस्कृतिविद् प्रकाश श्रेष्ठ ‘सक्व’का अनुसार गोपाल वंशावलीमा गठामङ्गललाई सत्य, रज र तम गुणका रूपमा व्याख्या गरिएको छ। यसलाई भैरवका प्रतीकका रूपमा समेत लिने गरिएको उहाँको भनाइ छ। नेवार समुदायमा घण्टाकर्णलाई धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण पर्वका रूपमा लिइन्छ।

नवविवाहित महिला तथा पुरुषले गठामङ्गलको दर्शन गर्नुपर्ने परम्परासमेत रहेको संस्कृतिविद् श्रेष्ठले बताउनुभयो। विवाहपछि नयाँ जीवन सुरु गरेका दम्पतीले गठामङ्गलको दर्शन गर्दा पारिवारिक जीवनमा आउने बाधा तथा नकारात्मक प्रभावबाट जोगिन सकिने धार्मिक विश्वास रहँदै आएको छ।

घण्टाकर्ण पर्वलाई केवल राक्षसको प्रतीक बनाएर जलाउने पर्वका रूपमा मात्र नभई समुदायको धार्मिक आस्था, सामाजिक एकता र सांस्कृतिक पहिचानसँग जोडिएको पर्वका रूपमा पनि लिइन्छ। पर्वका क्रममा परिवार तथा समुदायका सदस्य एकै ठाउँमा भेला हुने भएकाले यसले पुस्तौँदेखि चलिआएको सांस्कृतिक परम्परालाई निरन्तरता दिन महत्वपूर्ण भूमिका खेल्दै आएको छ।

धार्मिक विश्वासअनुसार घण्टाकर्णको पूजा आराधना गरेमा जीवनमा आइपर्ने बाह्य तथा आन्तरिक बाधा हट्ने, शत्रुबाट रक्षा हुने तथा आर्थिक र भौतिक उन्नति प्राप्त हुने विश्वास छ। त्यसैले पर्वका दिन विशेष श्रद्धाका साथ गठामङ्गलको पूजा तथा आराधना गर्ने गरिन्छ।

नेवार समुदायको मौलिक संस्कृति र परम्परासँग गहिरो रूपमा जोडिएको घण्टाकर्ण पर्वले काठमाडौं उपत्यकालगायत विभिन्न क्षेत्रमा आफ्नो विशिष्ट सांस्कृतिक पहिचान कायम राखेको छ। आधुनिक जीवनशैलीको प्रभाव बढ्दै गए पनि समुदायले परम्परागत विधि र संस्कारलाई निरन्तरता दिँदै पर्व मनाउँदै आएको छ।

यस पर्वमा राक्षसको प्रतीक निर्माण, बालबालिकाले जगात् माग्ने, साँझ राँको बाल्ने तथा गठामङ्गल जलाउनेजस्ता गतिविधिले पर्वलाई सांस्कृतिक रूपमा विशेष बनाउने गरेको छ। यसरी घण्टाकर्ण पर्वले धार्मिक आस्थासँगै नेवार समुदायको मौलिक परम्परा, इतिहास र सांस्कृतिक निरन्तरताको समेत प्रतिनिधित्व गर्दै आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय