काठमाडौं । आज साउन महिनाको पहिलो सोमबार । आज बिहानैदेखि पशुपतिनाथ मन्दिर तथा देशभरका शिव मन्दिरहरुमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ ।

साउने सोमबारका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । मन्दिरमा भक्तजन बिहानदेखि पूजा एवं दर्शनका लागि लाइनमा बसेका छन् । अन्य विशेष पर्वमा जस्तै आज पनि पशुपतिनाथमा भक्तजनको प्रवेशका लागि चार स्थानबाट लाम लाग्ने व्यवस्था गरिएको छ ।

साउनको सोमबार पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लाग्ने गर्छ । साउन महिना र सोमबार भगवान् शिवजीको महिना र बार भएकाले पनि यस अवसरमा धेरै भक्तजनको भीड लाग्ने जनाइएको छ । आज बिहानै स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकांक्षा पूरा हुने, अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास भएकाले विशेष गरी महिला भक्तजनको भीड लागेको छ । पहेलो, रातो एवं हरियो पहिरनमा सजिएका भक्तजनले पशुपति क्षेत्र भरिभराउ छ ।

विवाहित महिलाले श्रीमानको दीर्घजीवनको कामना र अविवाहित महिलाले योग्य वरको कामना गर्दै साउने सोमबारको व्रत बस्ने भन्ने भनाइ छ । सुख, शान्ति एवं समृद्धिका लागि साउन महिना र सोमबार सबैले शिवको उपासना गर्नुपर्ने धार्मिक ग्रन्थमा रहेको छ । यस वर्ष साउनमा चार वटा सोमबार परेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय