काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आन्तरिक सुधारमा केन्द्रित हुन विश्वविद्यालयका पदाधिकारीहरुलाई निर्देशन दिनुभएको छ । आज बालुवाटारमा आयोजित सुदूरपश्चिम विश्वविद्यालयको ११ औं सिनेट बैठमा बोल्दै प्रधानमन्त्री एवं सुदूरपश्चिम विद्यालयका उपकुलपति दाहालले राज्यको सीमितता र स्रोत साधनका बाबदूद विश्वविद्यालको आफ्नै बलबुतामा आन्तरिक सुधार कार्य अघि बढाउन निर्देशन दिनुभएको हो ।




राज्यको साधनस्रोतको सीमितता, विश्वबजारको प्रभावका बाबजूद पनि विश्वविद्यालयको आफ्नै बलबुता र मेहेनतमा शैक्षिक गुणस्तर, प्रशासनिक सुधार र कार्यशैलीका दृष्टिले काफी हदसम्म सुधार गर्नसकिने शैक्षिक जगतमा प्रशस्त दृष्टान्तहरू रहेको बताउँदै प्रधानमन्त्री दाहालले विश्वविद्यालयका पदाधिकारीहरूले आफ्नो सापेक्षतामा उच्चशिक्षाको गुणस्तर अभिवृद्धि, संस्थागत र संरचनागत सुधारका क्षेत्रमा के–कस्ता कामहरू गर्न सकिन्छ, सोको गहिरो अध्ययन गरी सुदूरपश्चिम विश्वविद्यालयलाई देशकै उत्कृष्ट र नमुना विश्वविद्यालयका रूपमा स्थापित गर्नसमेत ध्यानाकर्षण गराउनु भयो ।

प्रधानमन्त्री दाहालले सुदूरपश्चिम विश्वविद्यालयले स्थापनाको छोटो अवधिमै नेपालको उच्चशिक्षाको विकासमा प्रशंसनीय भूमिका निर्वाह गरिरहेको पनि उल्लेख गर्नुभयो ।



