आसन्न प्रतिनिधिसभाको निर्वाचन आउन अब ४ दिन मात्रै बाँकी छ। भोलि राति १२ बजेदेखि मौन अवधि सुरु हुदैछ। दलहरुले भोलि रातिसम्म मात्र जुलुस, आमसभा र प्रचार प्रसारका कार्यक्रम गर्न पाउनेछन्। निर्वाचन आयोगले निर्वाचनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। मतपत्र, मतपेटिका तथा निर्वाचन सामग्री सबै जिल्लामा पुर्‍याइसकिएको छ। पहाडी र हिमाली जिल्लाका मतदान केन्द्रमा खटिने मतदान अधिकृत सामग्री बुझबुझारथ गरी कार्यक्षेत्रतर्फ लागिसकेका छन् भने तराई–मधेस र सहरी जिल्लामा भने मतदान अधिकृतको अनुशिक्षण भइरहेको छ। आयोगले गत फागुन ३ गतेबाट सञ्चालन गरेको मतदाता शिक्षा आज सकिने जनाएको छ ।

यसैबीच आयोगले चुनावका दिन अत्यावश्यक सवारीसाधनलाई कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । आयोगले सवारीसाधन सञ्चालनसम्बन्धी व्यवस्थापनलाई प्रभावकारी, व्यवस्थित र अत्यावश्यक सेवामैत्री बनाउन सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२ अनुरुप पास आवश्यक नपर्ने उल्लेख गरेको छ। आयोगले दमकल, एम्बुलेन्स, शववाहन खानेपानीका, दूध, फलफूल, तरकारी, माछा, मासु, पेट्रोलियम पदार्थ बोकेका सवारीसाधनलाई कुनै प्रकारको पास आवश्यक नपर्ने जनाएको छ। यस्तै दूूरसञ्चार सेवा, खानेपानी, विद्युत्, ढल मर्मतका लागि प्रयोग हुने सवारीसाधन, अस्पताल सेवाका सवारीसाधन अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई घरदेखि अस्पताल र अस्पतालदेखि घरसम्म आवतजावत गर्न पास आवश्यक नपर्ने आयोगले उल्लेख गरेको छ।

अन्तरराष्ट्रिय तथा आन्तरिक हवाई सेवाका यात्रु बोकेका सवारीसाधन विमानस्थलदेखि घर वा होटलसम्म र घर वा होटलदेखि विमानस्थलसम्मलाई पनि कुनै पास जरुरी नपर्ने स्पष्ट पारिएको छ। त्यस्तै, हिँडडुल गर्न नसक्ने गर्भवती, सुत्केरी, आफ्नै बच्चा बोकेकी महिला, कीरियापुत्री, शारीरिक रूपमा अशक्त वा अपाङ्गता भएका व्यक्ति, हिँडडुल गर्न नसक्ने ज्येष्ठ नागरिक मतदाता र निजका एक जना सहयोगी बोकेका सवारीसाधनले पनि निर्वाध सञ्चालन हुन सक्नेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय