इथियोपियामा करिब १२ हजार वर्षपछि ‘हेली गुब्बी’ नामको ज्वालामुखी विस्फोट भएको छ। विस्फोटबाट निस्किएको खरानी र सल्फर डाइअक्साइड मिश्रित धुलो–धुवाँ करिब १५ किलोमिटर माथिसम्म पुगेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएअनुसार, विष्फोटबाट निस्किएको बादल लाल सागर पार गर्दै यमन, ओमान हुँदै भारत, नेपाल र चीनसम्म फैलिएको थियो। इथियोपियाबाट ४,३०० किलोमिटर टाढा रहेका भारतका राजस्थान, गुजरात, महाराष्ट्र, दिल्ली र पञ्जाबमा पनि बादल देखिएको थियो। भारतको मौसम विज्ञान विभागले बादल मंगलबारदेखि हटेर नेपाल हुँदै चीनतर्फ सरेको जनाएको छ।

हवाई उडान प्रभावित

विस्फोटका कारण आकाशमा मडारिएको बादल र धुलोका कणले भारतमा हवाई उडान प्रभावित भएका थिए। एअर इन्डियाले आफ्ना ११ उडान रद्द गरेको थियो। तर विज्ञहरूले भने, बादल अत्यधिक उचाइमा भएकाले सर्वसाधारणको दैनिक जीवनमा प्रत्यक्ष असर नपरेको बताएका छन्। नेपालमा पनि बादल करिब ४३ हजार फिट माथिसम्म फैलिएको थियो। जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद बरुण पौडेलले भने, “धेरै माथि भएकाले नेपालमा असर नभएको हो। पानी परेको भए एसिड वर्षा हुन सक्थ्यो, तर पानी नभएकोले कुनै असर भएन।” त्यसबाहेक, नेपालमा ७ अन्तर्राष्ट्रिय उडानहरू अस्थायी रूपमा रोकिएका थिए।

वैज्ञानिक अध्ययनका लागि दुर्लभ अवसर

वैज्ञानिकहरूले हजारौं वर्षपछि भएको यस विस्फोटलाई इथियोपियाको इतिहासकै असाधारण घटना भनेका छन्। गल्फ न्युजका अनुसार, विस्फोटसँगै ठूलो मात्रामा सल्फर डाइअक्साइड ९क्इ₂० निस्किएपछि वातावरण र स्वास्थ्यमा असरको सम्भावना बढेको छ। ‘इमिरेट एस्ट्रोनमिकल सोसाइटी’ का अध्यक्ष इब्राहिम अल जरवानले भने, “ज्वालामुखीबाट अचानक बढी क्इ₂ निस्कनुले भूगर्भमा दबाव बढी रहेको देखाउँछ। म्याग्मा अझै सक्रिय छ र फेरि विस्फोट हुन सक्ने सम्भावना छ। यो घटना वैज्ञानिक अध्ययनका लागि दुर्लभ अवसर हो।” इथियोपियामा हालसम्म मानवीय क्षति भने रिपोर्ट भएको छैन। यमन र ओमान सरकारले आफ्ना नागरिकलाई सतर्क रहन सचेत गराएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय