काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पूर्वाधारविना तत्काल सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान नगराउन माग गरेको छ । महासंघले विज्ञप्ति जारी गर्दै सरकारले अनिवार्य सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न लाद्न खोजेको भन्दै यसप्रति ध्यानाकर्षण भएको जनाएको हो ।

महासंघले भौतिक पूर्वाधारविना राजश्व असुली गर्ने कार्य न्यायोचित नभएको भन्दै इम्बोस्ड नम्बर प्लेट लगाउने विषयमा सम्मानित सर्वोच्च अदालतबाट भएको फैसलालाई महासंघ सम्मान गर्ने बताएको छ । विज्ञप्तीमा देशभरी रहेका यातायात व्यवस्था कार्यालयहरूमा इम्बोस्ड नम्बर लगाउने प्रविधिको विकास भई नसकेकोले वर्तमान अवस्थामा इम्बोस्ड नम्बर लगाउन जाने सार्वजनिक सवारीका साधनका व्यवसायीहरूले पुरानै नम्बरमा कर तिर्ने कागजपत्र नविकरण गर्ने र इम्बोस्ड नम्बरको राजश्व मात्र लिने कार्य भएको र भौतिक पूर्वाधार विना राजश्व असुली गर्ने कार्य न्यायोचित नभएको भन्दै तत्काल सूचनालाई पूर्नमूल्यांकन गरी आवश्यक सुधार गर्न उल्लेख गरेको छ । यथास्थितिमा इम्बोस्ड नम्बर लगाउने निर्णयको देशभरका व्यवसायीले विरोध गर्ने महासंघले जनाएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले भदौ ३ गते सूचना जारी गर्दै आगामी असोज १ गतेदेखि अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्न उर्दी जारी गरेको थियो । उक्त सूचनाको चौतर्फी आलोचना भइरहेको छ।​

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय