काठमाडौं, असोज ११ – संयुक्त राज्य अमेरिकाले ईलेक्ट्रोनिक डाइभर्सिटी भिसा ई-डीभी आवेदन दर्ताका क्रममा प्रतीकात्मक शुल्क तिर्नुपर्ने नयाँ नियम लागू गरेको छ। अब प्रत्येक आवेदकले आवेदन दर्ता गर्दा एक अमेरिकी डलर तिर्नुपर्ने व्यवस्था गरिएको छ।
यसअघि ई-डीभी चिट्ठा भर्न आवेदन दर्ता निःशुल्क रहँदै आएको थियो। नयाँ नियमले धेरै नेपाली आवेदकलाई व्यावहारिक कठिनाइ हुने देखिएको छ, किनकि अधिकांशसँग अन्तर्राष्ट्रिय भुक्तानी गर्न सक्ने डलर कार्ड उपलब्ध छैन। यसले गर्दा कतिपय मानिस निरुत्साहित हुन सक्ने बताइएका छन्।



तर नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशकले भने व्यावहारिक समाधान निकाल्न सकिने बताएका छन्। उनका अनुसार बैंकमार्फत आवश्यक प्रक्रिया पूरा गरी एक डलर शुल्क तिर्न सकिने भएकाले ठूलो समस्या नआउला। ग्रीन कार्डमार्फत अमेरिकामा स्थायी बसोबासको अवसर दिने डीभी चिट्ठा नेपालमा लोकप्रिय छ। यसअघि आवेदन दर्ता निःशुल्क भए पनि चिट्ठा परेपछि अन्तर्वार्ता प्रक्रियामा ३३० अमेरिकी डलर तिर्नुपर्ने व्यवस्था कायम नै छ।



