काठमाडौं । राष्ट्रिय गौरवको आयोजना नागढुंगा सुरुङमार्ग संचालनको तयारी भइरहेका बेला प्रभावित स्थानीय बासिन्दाले आफ्ना वर्षौंदेखिका समस्या समाधान नगरी सुरुङमार्ग उद्घाटन गर्न लागिएको भन्दै विरोध जनाएका छन् ।
साउन ११ गते सोमबार उद्घाटनको तयारी हुँदै गर्दा स्थानीयले आज सुरुङमार्गको पूर्वी गेटमा शान्तिपूर्ण धर्ना गरेका छन् । उनीहरूले आयोजना संचालनको क्रममा प्रत्यक्ष रूपमा असर पारेका व्यक्तिहरुको समस्या सम्बोधन नगरि पेलेरै संचालन गर्न लागिएको भन्दै विरोध जनाएका हुन् । उनीहरुले आयोजनाका कारण खानेपानीको मुहान सुकेपछि पानीको समस्या बढेको, चर्किएका घरको क्षतिपूर्ति नपाएको, सिस्नेखोला पानी लिफ्टिङलगायतका आधारभूत समस्या अझै समाधान नगरेको भन्दै आक्रोश व्यक्त गरेका छन् । स्थानीयले सम्बन्धित निकायसँग पटक–पटक संवाद र ध्यानाकर्षण गराउँदा पनि प्रतिबद्धता कार्यान्वयन नभएको गुनासो गर्दै आएका छन् । विकासको नाममा आफूहरूले वर्षौंदेखि पीडा र अन्याय भोग्दै आएको तर जिम्मेवार निकायबाट आश्वासनबाहेक ठोस पहल नभएको उनीहरूको आरोप छ ।



स्थानीयले अब नयाँ निर्णयभन्दा पनि विगतमा गरिएका प्रतिबद्धताको कार्यान्वयन चाहेकोले आफ्ना माग सम्बोधन नभएसम्म आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने नागढुंगा सुरुङ मार्ग पीडित संघर्ष समितिका अध्यक्ष गोपी सुर्खेतीले जानकारी दिनुभयो । विकास आयोजनाको सफलतासँगै त्यसबाट प्रभावित नागरिकको न्याय, अधिकार र जीवनयापनका सवाल पनि समान रूपमा सम्बोधन हुनुपर्ने स्थानीयको मुख्य माग रहेको छ ।



