काठमाडौं । मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि दलहरुले उम्मेदवारी दर्ता गराएका छन् । ४४ ठाउँमा हुन लागेको उपनिर्वाचनलाई दलहरुले प्रतिष्ठाका रुपमा लिएका छन् । कांग्रेस, एमाले, माओवादीदेखि पहिलो पटक स्थानीय तह निर्वाचनमा होमिएको रास्वपासम्मले चुनाव जित्ने दाबी गरिरहेका छन् । मुख्यतः पालिका प्रमुख र उपप्रमुखमा दलहरुको ध्यान केन्द्रित भएको छ । कहाँ कसको उम्मेदवारी दर्ता भयो ?

उपनिर्वाचन हुनेमध्ये दलहरुको ध्यान पालिका प्रमुख र उपप्रमुख बढी केन्द्रित भएको छ । सोहीकारण दलहरुले काठमाडौंको कीर्तिपुर नगरपालिकाको प्रमुख, जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख, मोरङको ग्रामथान र दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष तथा दोलखाको गौरीशङ्कर, हुम्लाको सर्केगाड, रुकुम पुर्वको पुथाउत्तरगंगा र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्षमा उम्मेदवारीसँगै चुनावी अभियानलाई पनि तीव्रता दिएका छन् । यी आठ पालिकामा दलहरुले क–कसलाई उम्मेदवार बनाए त ?

काठमाडौंको कीर्तिपुर नगरपालिका

२०७९ को आवधिक निर्वाचनमा विजयी भएको कांग्रेसदेखि स्वतन्त्रसम्मले काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयर पदका लागि उम्मेदवारी दर्ता गरेका छन् । कांग्रेसबाट कृष्णमान डंगोल, एमालेबाट सुरेन्द्र मानन्धर, नेकपा माओवादी केन्द्रबाट शिवशरण महर्जन, राप्रपाबाट ध्रुव महर्जन र जसपा नेपालबाट दीपक महर्जन (हनी) ले उम्मेदवारी दिएका छन् । यस्तै राजमान महर्जनले स्वतन्त्र रुपमा उम्मेदवारी दिनुभएको छ ।

जाजरकोटको नलगाड नगरपालिका

जाजरकोटको नलगाड नगरपालिकाको उपमेयरमा चार दलले मनोनयन दर्ता गराएका छन् । नेपाली काँग्रेसबाट इन्द्रा चन्द सिंह, एमालेबाट सुनिता बोहरा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पार्वती पुन र राप्रपा नेपालबाट सुनिता पुन रावलले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

मोरङको ग्रामथान गाउँपालिका

मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टीले उम्मेदवारी दर्ता गराएका छन् । एमालेबाट तुलसी विश्वास, कांग्रेसबाट बलराम सरदार, माओवादी केन्द्रबाट नमोनारायण माझी र राप्रपाबाट दिनेशकुमार थान्दारले मनोनयन दर्ता गराएका हुन् ।

दैलेखको महाबु गाउँपालिका

दैलेखको महाबु गाउँपालिकाको अध्यक्षका लागि पनि दलहरुले उम्मेदवारी दिएका छन् । महाबुको अध्यक्षका लागि कांग्रेसबाट झलकबहादुर भण्डारी, एमालेबाट जंगबहादुर शाही, माओवादीबाट जंगबहादुर बराल, समाजवादीबाट जगत हमाल र रास्वपाबाट प्रकाश बुढाले उम्मेदवारी दर्ता गराएका छन् ।

दोलखाको गौरीशंकर गाउँपालिका

दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्ष पदका लागि कांग्रेस, एमाले, माओवादी, रास्वपाले उम्मेदवारी दिएका छन् । एमालेबाट उमा लुंगेली मगर शेर्पा, कांग्रेसबाट पासादिकी तामाङ, माओवादी केन्द्रबाट निमकेली शेर्पा र रास्वपाबाट गोमा श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

हुम्लाको सर्केगाड गाउँपालिका

हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षका लागि नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा र राप्रपाले उम्मेदवारी दिएका छन् । कांग्रेसबाट सबिता बुढा, एमालेबाट जाना शाही, माओवादी केन्द्रबाट देवी तिमल्सेना, राप्रपाबाट संगीता शाही र रास्वपाबाट बाँचु बुढाले उम्मेदवारी दर्ता गराएका हुन्।

रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका

रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाको उपाध्यक्षका लागि नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले उम्मेदवारी दिएका छन् । माओवादी केन्द्रबाट ज्ञानदेवी पुन, एमालेबाट केशकुमारी तुलाचन र कांग्रेसबाट रिचा सुनारले उम्मेदवारी दिएका छन् ।

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका

बाजुरको स्वामीकार्तिक खापर गाउँपालिकामा उपाध्यक्षका लागि ५ दलले उम्मेदवारी दर्ता गराएका छन् । नेकपा एमालेबाट सुलोचना कुमारी भण्डारी बुढा, राप्रपाबाट सुना देवी थापा भोटे धामी,काँग्रेसबाट पुल्तिसरा शाही, नेकपा एकीकृत समाजवादीबाट जवा शाही र नेकपा माओवादी केन्द्रबाट राजुकुमारी विकले उम्मेदवारी दर्ता गराएका हुन् ।

यस्तै उपनिर्वाचन हुने ३४ वडाध्यक्ष पदमा पनि दलहरुले उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेस, एमाले, माओवादी, राप्रपाले अधिकांश ठाउँमा उम्मेदवारी दिँदा राप्रपा लगायतका दलले भने सिमित ठाउँमा मात्रै उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय