काठमाडौं । लामो समयदेखि पारिश्रमिक नपाएको भन्दै एभिन्यूज खबरका पत्रकार र कर्मचारी आन्दोलनमा उत्रिएका छन् । नेपालीहरुको महान चाड बडा दशैं घरआँगनमा आइसक्दा पनि आफुहरुले काम गरेको पारिश्रमिक नपाएको भन्दै हिजो (बुधबार) साँझ ५ बजेदेखि पत्रकार र कर्मचारीहरुले टेलिभिजनको सम्पूर्ण कामकाज ठप्प गर्दै आन्दोलनमा उत्रिएका हुन् ।




पत्रकार र कर्मचारीको आन्दोलनका कारण न्यूज च्यानलको रुपमा परिचित एभिन्यूज खबर टेलिभिजनले अहिले कुनै पनि ताजा समाचार प्रशारण गर्न सकेको छैन । टेलिभिजन संचालक भास्करराजराज कर्णिकारले पत्रकार र कर्मचारीलाई आन्दोलन रोकी काममा फर्कन भने पनि पारिश्रमिक नपाएसम्म कोही कसैले काम नगर्ने भनेपछि अहिले टेलिभिजनमा पहिले प्रशारण भएका रेकर्ड कार्यक्रमहरु प्रशारण भइरहेको छ ।

कर्मचारी र पत्रकारहरुले आफुहरुलाई टेलिभिजन मालिक भाष्करराजराज कर्णिकारले बारम्बार आश्वासन दिएर झुक्याउँदै आएकोले अब उहाँप्रति विश्वास गर्ने वातावरण नभएकोले जति जुक्ति लगाएर पनि नफक्किने बताउँछन् । टेलिभिजनमा काम गरिरहेका कर्मचारीहरुले कम्तिमा पनि ९ महिनादेखि पारिश्रमिक पाउन सकेका छैनन् ।

आन्दोलनको क्रममा पत्रकारहरुले आफ्नो हकहितका लागि बोल्ने संस्था पत्रकार महासंघलाई पनि घचघचाएका थिए । अहिले पत्रकार महासंघ र टेलिभिजनका संचालक कर्णिकारबीच वार्ता भइरहे पनि कुरा मिल्न सकेको छैन । टेलिभिजनले कर्मचारीलाई तत्काल एक महिनाको पारिश्रमिक दिने अरु केही समयपछि भनेपछि झन पत्रकार र कर्मचारी आक्रोशित भएका छन् । पत्रकारहरुले आज बेलुकासम्म कम्तिमा पनि ५ महिनाको पारिश्रमिक र बाँकी चेक दिनुपर्ने अडान राख्दै आएका छन् । टेलिभिजनमा काम गर्ने पत्रकार र कर्मचारीहरुले कम्तिमा पनि ३ महिना देखि १५ महिनासम्म पारिश्रमिक पाउन सकेका छैनन् । नाम नलेख्ने सर्तमा एक पत्रकार भन्छन्, टेलिभिजनसँग ८ लाख भन्दा बढी रुपैयाँ पारिश्रमिक लिन बाँकी रहेको बताउँछन् ।

समाज रुपान्तरणको लागि सधै खबरदारीमा उत्रने पत्रकारहरु उनीहरु पीडित हुँदा कसेले बोलिदिने ? भनिन्छ सिकर्मीको घरमा भर्याङ भाँचिएको भनेझै अरुलाई सचेत गराउने व्यक्ति पीडामा भएको कसले बुझिदिने ? जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारका संचारमन्त्री पहिले पत्रकारिता क्षेत्रबाटै आएकोले पक्कै पनि पत्रकारहरुको पीडा उहाँले बुझ्नु नै हुनेछ । संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले नेपालका ठूला भनिएका मिडियाहरुले पत्रकार र कर्मचारीलाई गरिरहेको श्रमशोषणको विषयमा ठोस कदम चाल्न जरुरी छ ।



