काठमाडौं । एएफसी एशियन कप छनोटका लागि नेपालले आज भियतनामसँग खेल्दैछ । खेल नेपाली समयअनुसार बेलुकी पौने सात बजे हुनेछ । भियतनामसँगको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली भियतनाम पुगिसकेको छ ।
एशियन कप छनोटमा नेपालले असोज २८ गते पनि भियतनामसँग खेल्नेछ । नेपालले ‘होम म्याच’ त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा खेल्नुपर्ने हो । तर दशरथ रंगशाला अयोग्य रहेका कारण नेपालले ‘होम’ र ‘अवे’ दुवै खेल भियतनाममा नै खेल्नेछ ।
फिफा वरीयतामा नेपाल १७६औं स्थानमा छ भने भियतनाम ११४औं स्थानमा छ । प्रशिक्षक म्याट रसले भियतनामसँगको दुई खेलका लागि किरणकुमार लिम्बुको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरिसकेका छन् । टोलीमा धेरैजसो पुरानै खेलाडी दोहोरिँदा ६ जनाले पुनरागमन गरेका छन् । आयुष घलान, कृतिशरत्न छुन्जु, सुमित महर्जन, सनिस श्रेष्ठ, विमल पाण्डे र विशाल सुनार टोलीमा फर्किएका हुन् ।






