विश्वकप फुटबलको एसिया छनोटको पहिलो चरणमा नेपालले लाओससँग बराबरी खेलेको छ । बिहीबार दशरथ रंगशालामा भएको खेलमा नेपालले लाओससँग १–१ गोलको बराबरी खेलेको हो । पाहुना टोली लाओसले खेलको ३३ औं मिनेटमा सुरुआती अग्रता बनाएको थियो । लाओसका लागि कप्तान बोनफाचन बौकोङ्गले गोल गरेका थिए । पहिलो हाफमा नेपाल १–० ले पछि परेको थियो । दोस्रो हाफमा अन्जन विष्टको गोलमा खेल १–१ बराबरीमा फर्किएको थियो ।
अन्जनले खेलको ४७ औं मिनेटमा कर्नर बललाई सदुपयोग गर्दै हेडमार्फत गोल गरेका थिए । योसँगै विष्टले अन्तराष्ट्रिय फुटबलमा १३ गोलको कीर्तिमान बराबरी गरेका छन् । उनले अन्तराष्ट्रिय फुटबलमा हरी खड्का र निराजन रायमाझीले बनाएको सर्वाधिक १३ गोलको कीर्तिमानलाई बराबरी गरेका हुन् । लाओससँग बराबरी खेलेसँगै नेपालले अघिल्लो चरण प्रवेशको सम्भावनालाई कठिन बनाएको छ । नेपालले दोस्रो लेग अब लाओसको घरेलु मैदानमा अक्टोबर १७ मा खेल्नेछ ।






