प्रधानमन्त्री केपी शर्मा ओलीको क्याबिनेटका धेरैजसो मन्त्री कुनै न कुनै तहको विवादमा आए । पछिल्लोपटक दुई मन्त्रीको नाम घुस काण्डमा मुछियो भने त्यसअघि एक वर्षको अवधिमा धेरैजसो मन्त्रीले आफूलाई स्वच्छ छविका रुपमा राख्न सकेनन् । हेरौँ एक वर्षको अवधिमा काण्डबाहिरिएका मन्त्रीहरु । एक वर्षको अवधिमा अपेक्षित काम गर्न नसकेको सरकारका मन्त्रीहरु पालैपालो विवादमा तानिए । कतिपयको घुसकाण्ड सार्वजनिक भयो भने कतिपय मन्त्री मौखिक आरोपहरुबाट घेरिए । यो बीचमा विवादित बनेका मन्त्रीहरुको फेहरिस्त हेरौँ ।
राजकुमार गुप्ता: संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री



हालै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तामाथि ७८ लाख घुसको डिल गरेको आरोप लागेको छ । उहाँमाथि जिल्ला मालपोत कार्यालय कास्कीका प्रमुखको थमौतीका लागि ५३ लाख घुस लिएको आरोप लागेको हो ।
बलराम अधिकारी : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीमाथि मन्त्री राजकुमार गुप्तासँगै जोडिएर आरोप लागेको हो । गुप्ताको बाहिरिएको अडियोमा मन्त्री अधिकारीको पनि नाम मुछिएको छ ।
प्रकाशमान सिंह :उपप्रधान तथा सहरी विकासमन्त्री
उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह बजेटमा चलखेल गरेका कारण विवादमा तानिनुभयो । कांग्रेसकै नेता र पूर्वराज्यमन्त्री समेत रहेका पूर्णबहादुर तामाङले बजेटमा सिंहको हालीमुहाली भएको भन्दै गत असार ८ गतेको संसद बैठकमा आक्रोश पोख्नुभयो । सिंहले मापदण्ड भन्दा कमका पचासौँ योजना बाँडेको, गणेशमान सिंहको नाममा विभिन्न संघ संस्थालाई ठूलो रकम छुट्टाउन अर्थमन्त्रीलाई दबाब दिएको आरोप खेप्नुपर्यो ।
रमेश लेखक :गृहमन्त्री
गृहमन्त्री रमेश भिजिट भिसा प्रकरणमा मुछिनुभयो । गृहमन्त्रालय र मन्त्रीकै संलग्नतामा भिजिट भिसामार्फत् मानव तस्करी भइरहेको भन्दै उहाँमाथि राजीनामाको दबाब विपक्षी दलहरुले दिए । संसदीय छानबिनको माग गरे । रास्वपा र राप्रपाले अहिले पनि यही कारणले संसदमा अवरोध जारी राखेका छन् । मन्त्री लेखकले आरोप अस्वीकार गर्दै राजीनामा दिनुभएन ।
शरतसिंह भण्डारी : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीमाथि हालै एउटा अनौठो आरोप लागेको छ । मन्त्रालयबाट हराएको भनिएको गाडी उहाँले आफ्नो पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई चढ्न दिएको आरोप लाग्यो । यतिसम्मकी मन्त्रालयबाट गाडी हराएको भन्दै खोजी गरिदिन गृह मन्त्रालयालई पत्राचार गरी पूरै संयन्त्र नै पंगु बनाउने प्रयास गरेको आरोप उहाँमाथि लाग्यो । त्यसबाहेक श्रम र वैदेशिक रोजगारीसँग जोडिएका विभिन्न विषयमा उहाँ विवादमै हुनुहुन्छ ।
तेजुलाल चौधरी : युवा तथा खेलकुदमन्त्री
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीमाथि राष्ट्रिय खेलकुद परिषद राखेपमाथि अनावश्यक हस्तक्षेप गरेको आरोप छ । चौधरीले आफ्नै स्कुलकी प्रिन्सिपललाई राखेपको बोर्ड सदस्य नियुक्त गरेको, सदस्य सचिवलाई अनावश्यक रुपमा स्पष्टीकरण सोधेको, राष्ट्रिय खेलकुदलाई अलपत्र पारेको जस्ता आरोप छन् ।
अजय चौरसिया :कानून, न्याय तथा संसदीय मामिलामन्त्री
कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियामाथि संसदमै गम्भीर आरोप लगाउनुभएको छ, स्वतन्त्र सांसद अमरेशकुमार सिंहले । उहाँले मन्त्री चौरसियाले न्यायाधीशहरुलाई प्रभावित पारेको, मोहम्मद अफताव आलमको इट्टाभट्टा प्रकरणमा हस्तक्षेप गरी सफाइ दिन लगाएको जस्ता आरोप लगाउनुभयो । यो आरोपपछि चौरसियामाथि छानबिन हुनुपर्ने माग उठे पनि छानबिन भने भएको छैन ।
दीपक खड्का :ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री
ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री दीपक खड्कामाथि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलामान घिसिङलाई अनावश्यक रुपमा दबाब दिई हटाएको, विभिन्न विद्युत परियोजनाको ठेक्कापट्टामा जालझेल गरेको आरोप छन् ।
शिक्षामन्त्री विद्या भट्टराईको राजीनामा
ओली क्याबिनेटबाट विवादमा नपरी बिदा हुनुभयो, विद्या भट्टराई । उहाँमाथि आम रुपमा कुनै काण्ड वा प्रकरणको आरोप लागेन तर विद्यालय शिक्षा विधेयकमा आफ्ना मागहरु समावेश नगरेको भन्दै शिक्षकहरुले उहाँमाथि आक्रोश भने व्यक्त गरेका थिए । तर मन्त्री भट्टराईले कुनै पनि कारण नदेखाई गत वैशाख ८ गते राजीनामा दिनुभएको थियो । भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीबाटै आफूलाई असहयोग भएको भन्दै राजीनामा दिएको बताइएको छ । पछि ओलीले रघुजी पन्तलाई शिक्षामन्त्री नियुक्त गर्नुभएको थियो । सरकारको एक वर्षमा अधिकांश मन्त्री सानातिनादेखि गम्भीर प्रकृतिसम्मका काण्डमा मुछिएका छन् । तर, ती काण्डहरुका आधारमा मन्त्रीहरु कारबाहीको भागीदार भने बनिसकेका छैनन् ।



