करदाता प्रोत्साहन पुरस्कार योजनामा सहभागी हुने उपभोक्ताको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ। नगद कारोबारका बिल अपलोड गरेर पुरस्कार योजनामा सहभागी हुने उपभोक्ताको सङ्ख्या साउनको दोस्रो पन्ध्र दिनमा निकै बढेको हो। साउनको पहिलो १५ दिनमा जम्मा ७ हजार ७७ वटा नगद कारोबारका बिल उपहारका लागि अपलोड भएका थिए। तर साउन १६ देखि ३१ गतेसम्मको अवधिमा यो सङ्ख्या बढेर ३ लाख ५७ हजार १४९ पुगेको छ। यसले योजनाप्रति उपभोक्ताको आकर्षण बढ्दै गएको देखाएको छ।

यस्तै, क्यूआर तथा अनलाइन बैंकिङमार्फत कारोबार गर्ने उपभोक्ता पनि स्वतः उपहार योजनामा सहभागी भएका छन्। यस्तो कारोबारको सङ्ख्या पहिलो अवधिमा २ करोड ५६ लाख ८ हजार ९४ रहेकोमा साउन १६ देखि ३१ गतेसम्म बढेर ३ करोड २० लाख ८६ हजार ३८० पुगेको छ। योजनाअन्तर्गत बम्पर पुरस्कारसमेत वितरण गरिएको छ। प्रथम बम्पर पुरस्कारस्वरूप १० लाख रुपैयाँ कैलालीका हेमराज जोशीले प्राप्त गरेका छन्। त्यस्तै, नवलपरासीका हिमाल अर्यालले १ लाख ३३ हजार ३३४ रुपैयाँ पुरस्कार पाएका छन्।

करदाता प्रोत्साहन पुरस्कार योजनाले उपभोक्तालाई कारोबार गर्दा बिल लिन तथा डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ। कारोबारलाई औपचारिक प्रणालीमा ल्याउन र कर प्रणालीमा उपभोक्ताको सहभागिता बढाउन यस्ता योजनाले सहयोग पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय