काठमाडौं । जनसेवालाई नै आफ्नो जीवनको मूलमन्त्र मानेर चौबिसै घण्टा जनतामाझ खटिरहने एक लगनशील नेतृ माननीय रमा आले मगर यतिबेला स्वास्थ्य समस्याले थल्लिएकी छिन् । बागमती प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री आलेमगरको नाजुक स्वास्थ्य अवस्थाले उहाँका समर्थक, पार्टीका साथीभाई र समग्र चन्द्रागिरि÷बागमतीका जनतालाई स्तब्ध र चिन्तित बनाएको छ ।



समयमा नखाने, नसुत्ने, पार्टी, कार्यकर्ता, जनता, मिटिङ्ग, कार्यक्रम र विकास भनेपछि मरिहत्ते गरेर लागिपर्ने उहाँको बानीले नै आज उहाँलाई अस्पतालको शैयासम्म पुर्यायो ।
पारिवारिक गुनासो
निरन्तरको खटाई र जनसम्पर्कले गर्दा उहाँको शरीरले विश्राम पाउन सकेन । फलस्वरूप, विगत पाँच महिनादेखि उहाँ पेटको आन्द्रामा देखिएको अल्सर समस्याबाट पीडित हुनुहुन्छ । तीव्र जाँगर र स्फूर्तिले भरिएकी नेतृ आज आधा शरीर घटेर शिथिल हुनुभएको दृश्यले धेरैको मन दुखेको छ ।
राजनीतिकरूपले प्रतिबद्ध, विकासप्रेमी र स्वच्छ छविकी धनी आलेमगर जनताको प्रिय पात्र हुन् । उहाँको अथक पहलमा काठमाडौंको पश्चिम भेग र चन्द्रागिरिमा कैयौं ठुला विकासका योजनाहरू सफल भएका छन् । तर, जब उहाँ नयाँ योजनाहरू बुनिरहनुभएको थियो, त्यही बेला स्वास्थ्यले साथ नदिंदा उहाँको कर्मठ हात रोकिएका छन् । आठ वर्षसम्म तीब्र गतिले चन्द्रागिरिमा कुदेको विकासको गति अहिले धिमे हुन थालेको छ । काठमाडौं क्षेत्र नम्बर १० ‘ख’ बाट प्रदेश सभामा प्रत्यक्ष निर्वाचित हुनुभएका आलेमगर अस्पतालको शैयामा रहँदा प्रदेशको प्राथमिकतामा परेका योजनाहरू समेत अलपत्र परेको छ ।
रमा आले मगरका सम्पूर्ण शुभचिन्तकहरूले सामाजिक सञ्जाल र व्यक्तिगत माध्यमबाट उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छन् । विकासको सपना बोकेकी र जनताको मनमा बस्न सफल यी नेतृ चाँडै नै पूर्णस्वस्थ भएर फेरि सक्रिय राजनीतिमा फर्कि धिमे रुपमा अघि बसेको विकासको गतिलाई तीब्र रुपमा कुदाउँछिन् भन्ने सबैको विश्वास छ ।
चन्द्रागिरिबासी र बागमती प्रदेशका जनताको मनमुटुमा बस्न सफल भएकी रमा आलेमगरको OUR NEWS CREW परिवार शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।



