काठमाडौं । नेपाली कांग्रेसको नियमित महाधिवेशन पक्षमा रहेका नेताहरूले आज निर्वाचन आयोगमा उपस्थित भई पार्टीको आधिकारिकता आफूहरूकै रहेको दाबी गरेका छन् । शेरबहादुर देउवा नेतृत्वको समूहले आवश्यक कागजातसहित आयोगमा निवेदन बुझाएको हो ।

निर्वाचन आयोगमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का, उपसभापति धनराज गुरुङ तथा नेताहरू डा. शशांक कोइराला, मिन विश्वकर्मा, नैनसिंह महरलगायतको उपस्थिति रहेको थियो। उनीहरूले पार्टीको विधानअनुसार आफूहरू नै वैध नेतृत्व भएको जिकिर गरेका छन् ।

यसअघि बिहीबार गगन थापाको नेतृत्वमा रहेको विशेष महाधिवेशन पक्षधर समूहले पनि निर्वाचन आयोगमा नयाँ केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक गर्न निवेदन दिएको थियो। उक्त समूहले विशेष महाधिवेशन विधानसम्मत रूपमा सम्पन्न भएको र बहुमत प्रतिनिधिको सहभागिता रहेको दाबी गर्दै आधिकारिकताको माग गरेको छ ।

विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा भएपछि देउवा पक्षले थापासहितका केही नेताहरूलाई पार्टी अनुशासन उल्लङ्घन गरेको आरोपमा कारबाही गरेको थियो । हाल दुवै पक्षले निर्वाचन आयोगमा आ–आफ्नो पक्षलाई आधिकारिक मान्यता दिन माग गर्दै कागजात पेश गरिसकेका छन्। निर्वाचन आयोगले दुवै पक्षबाट प्राप्त निवेदन र प्रमाणहरू अध्ययन भइरहेको जानकारी दिएको छ ।

यसैबीच आयोग परिसरमा नेता तथा कार्यकर्ताको आवागमन बढ्न थालेपछि सुरक्षा व्यवस्था थप कडा बनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय