नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसलाई ०८४ मा हुने चुनावको कुनै चिन्ता नभएको बताएका छन ।

शनिबार काभ्रेको मण्डनदेउपुरको कुन्तावेसीमा नेपाली कांग्रेस, मण्डनदेउपुर नगरसमितिले आयोजना गरेको बृहत कार्यकर्ता भेला तथा शुभेच्छुक र भातृ संगठन विस्तार कार्यक्रममा सम्बोधन गर्दै महामन्त्री शर्माले केही पुराना पार्टी र नयाँ खोलिएका पार्टीले ०८४ सालको चुनावको चिन्ता गरिरहेकोप्रति लक्षित गर्दै कांग्रेस चुनावको चिन्ता गरेर समय खेर नफाल्ने बरु देशको चिन्ता गर्ने बताए । “कांग्रेस इतिहास बोकेको पार्टी भएको तथा लाखौं कार्यकर्ताको पार्टी भएकाले चुनावको चिन्ता गरेर समय खेर फाल्दैन, देशको चिन्ता गर्छ । म नेता कार्यकर्तालाई देशको चिन्ता गरेर अघि बढ्न निर्देशन दिन्छु।”-महामन्त्री शर्माले भने ।

कार्यक्रममा महामन्त्री शर्माले पार्टीभीत्र केही आन्तरिक किचलो भएपनि बाहिर हल्ला भएजस्तो कांग्रेसमा कुनै विवाद नरहेको प्रष्ट पारे । “पार्टीमा नेतृत्वको अपेक्षा धेरैको हुनु स्वभाविक हो, पार्टीभित्रको आन्तरिक किचलो अन्त्य गरेर आगामी चुनावमा कांग्रेस एकढिक्का भएर जान्छ ।”

सम्बोधन गर्ने क्रममा राजतन्त्र पक्षधरप्रति लक्षित गर्दै महामन्त्री शर्माले ‘बाहिर बाजा बजेको सुनेर कसैले खुट्टा हल्लाएको हो कि जस्तो लागेको छ। बाजाको धुनमा खुट्टासम्म हल्लाएको भए ठिकै छ बिहेनै सम्झेर बेहुलो बनेर बाहिर आउन खोज्नु भएको हो भने त्यो दिवास्वप्न नदेख्न सुझावसमेत दिए ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य शिव हुमागाईंले यसअघि कति काम गर्न सक्यौं वा कति सकेनौं त्यसको मूल्यांकन गरेर आगामी कार्यक्रम तय गर्नुपर्नेमा जोड दिए ।

कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले सबै मिलेर अघि बढ्दा कांग्रेस कहिले पनि कमजोर नहुने बताउँदै आगामी निर्वाचनसम्म पार्टीमा केही कमजोरी भए सच्याएर अघि बढ्ने बताए ।

कांग्रेस वागमती प्रदेशका महामन्त्री कन्चनचन्द्र वादेले नेता कार्यकर्ताले दिएका सुझावलाई आत्मसाथ गर्दै पार्टी अघि बढ्नेमा जोड दिए ।

काभ्रे कांग्रेस सभापति तीर्थ लामाले जिल्लाका सबै विकासमा कांग्रेसको योगदान उच्च रहेकाले यसको मूल्यांकन जनताले गर्ने बताए।

कार्यक्रममा पाँचखालका नगर प्रमुख एवं प्रतिनिधिसभा सभापति महेश खरेलले कांग्रेस एकजुट हुनुको विकल्प नरहेकोमा जोड दिए ।

कार्यक्रममा काभ्रे कांग्रेसकानेताहरू अच्युत पौडेल, लिला नेपाल, बिष्णुमणि नेपाल, सुन्दरमणि आचार्य, हेम लामा लगायतले मंतव्य राखेका थिए ।

नेपाली कांग्रेस मण्डनदेउपुर नगर सभापति कश्यप पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा मण्डनभेगमा जन्मिएर, स्थानीय, जिल्ला हुँदै राष्ट्रिय राजनीतिमासमेत चर्चामा रहेका राजनीतिज्ञ एवं समाजसेवी हरिप्रसाद पौडेलको अर्धकदको प्रतिमा महामन्त्री शर्माले अनावरण गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय