कांग्रेस नेता शेखर कोइरालाले पूर्वराष्ट्रपति विद्या भण्डारी र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेपछि राजनीतिमा अर्को खालको तरङ्ग आएको छ । प्रचण्डसँग बिहीबार भएको कोइरालाको भेटलाई सामान्य रूपमा लिइएको थियो । तर, एमालेमा पुनरागमनको घोषणा गरेकी भण्डारीसँग पनि छलफल गरेपछि विभिन्न राजनीतिक अर्थ लगाउन थालिएको छ । कतिपयले यसलाई अर्को गठबन्धनको तयारी भनेका छन् । यद्यपि अहिलेको राजनीतिक समीकरणमा यस्तो भेटले ठूलो परिवर्तन ल्याउन सक्ने सम्भावना भने कम छ ।



कांग्रेस नेता शेखर कोइरालाले अहिले सरकारको कटु आलोचना गरिरहनु भएको छ । माओवादी अध्यक्ष प्रचण्डले त सरकारलाई सडकबाटै ढाल्ने बताउन थाल्नु भएको छ । एमालेबाट राजनीतिको दोस्रो इनिङ्स सुरु गर्ने तयारी गरेकी विद्या भण्डारीको पनि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग दूरी बढ्दै गएको छ । यही पृष्ठभूमिमा बिहीबार र शुक्रबार भएका भेटलाई विभिन्न अर्थ लगाउँदै अहिले राजनीतिक बजार गर्माएको छ ।
किन भयो भेटघाट ?
कोइराला र प्रचण्ड तथा कोइराला र भण्डारीबीच भएका भेटमा आफू पनि सहभागी रहेको बताउने स्वतन्त्र सांसद अमरेशकुमार सिंहले नयाँ गठबन्धनको तयारी भइरहेको दाबी गरेपछि राजनीतिक माहोल तात्तिएको छ । यसैलाई आधार मानेर अब प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवालाई काउन्टर दिने गरी वाम लोकतान्त्रिक गठबन्धन बनाउने तयारी भइरहेको दाबी समेत कतिपयले गर्न भ्याएका छन् । यस्तो खाले गठबन्धनको उद्देश्य तत्कालका लागि सरकारका गलत कामको भण्डाफोर गर्ने र भविष्यमा नयाँ समीकरण बनाउने भनेर प्रचार गरिएको छ ।
यद्यपि भेटघाटका मुख्य तीन पात्रले भने यसबारे मुख खोलेका छैनन् । यस्तो खालको गठबन्धन बन्दा एकीकृत समाजवादी, जसपा नेपाल र रास्वपालाई समेत समेट्ने दाबी समेत गरिएको छ ।
सम्भव छ नयाँ समीकरण ?
कांग्रेस नेता कोइराला अहिले पार्टीमा कमजोर हुनुहुन्छ । गगन थापासँग मिलेर लड्दा समेत उहाँले नेतृत्व प्राप्त गर्न सक्नु भएन । पछिल्लो समय उहाँले निरन्तर सरकारको आलोचना गरिरहनु भएको छ । तर, सभापति शेरबहादुर देउवाले बेवास्ता गर्दै आउनु भएको छ । कांग्रेसमा अहिले कोइरालाको पक्षमा केही सीमित नेता र सांसद् मात्रै छन् । त्यसैले उहाँले चाहँदैमा नयाँ समीकरण बन्ने सम्भावना देखिँदैन । यता पूर्वराष्ट्रपति भण्डारीलाई पनि एमालेले अझै संस्थागत रूपमा स्वीकार गरिसकेको छैन । भण्डारीले चाहँदैमा पनि अर्को समीकरण बन्ने सम्भावना छैन । किनकि एमालेमा उहाँको अवस्था नै अझै स्पष्ट भइसकेको छैन । माओवादीसहितका विपक्षी दलले यो समीकरण टुटाउन खोजे पनि मुख्यत कांग्रेस सभापति देउवा तयार नभएसम्म त्यो सम्भव हुने अवस्था छैन । एमालेले संस्थागत निर्णय गरेरै भण्डारीलाई रोक्यो भने अवस्था बद्लिन पनि सक्छ । त्यो बेला भण्डारी खुलेर नयाँ समीकरण बनाउन सक्रिय बन्ने सम्भावना भने छ । र त्यो प्रधानमन्त्री ओलीले विश्वासको मत लिने बेला असन्तुष्टिका रूपमा प्रकट हुन सक्ने कतिपय नेताहरू बताउँछन् ।
दबाबमा राख्ने रणनीति त हैन ?
सरकारको कार्यशैलीलाई लिएर कांग्रेस र एमालेमा अहिले असन्तुष्टि बढ्दै गएको छ । दुवै दलमा अब बाटो परिवर्तन गर्नुपर्ने आवाज पनि चर्कँदै छ । तर, कांग्रेस सभापति देउवा प्रधानमन्त्री आफूमा हस्तान्तरण हुने दिन नजिक आउन लागेकाले सरकारबारे मौन हुनुहुन्छ । यही मौकामा वाम लोकतान्त्रिक गठबन्धनको चर्चा उचालेर कोइरालाले कतै देउवामाथि दबाब बनाउन खोज्नु भएको त हैन भन्ने प्रश्न उठेको छ ।
एमालेमा पनि लगभग उस्तै अवस्था छ । अध्यक्ष ओलीसँग असन्तुष्टि चुँलिदो छ तर पूर्व राष्ट्रपति भण्डारीलाई राजनीति गर्ने सहज वातावरण बनेको छैन । त्यसैले कांग्रेसको असन्तुष्ट पक्षका नेतालाई भेटेर भण्डारीले ओलीमाथि दबाब बनाउन खोजेको अर्थमा पनि व्याख्या गरिएको छ । एमालेको जारी पोलिट्ब्युरो बैठकले भण्डारीलाई कसरी व्यवस्थापन गर्छ भन्नेले पनि यी भेटघाको अर्थ खुलाउन सक्नेछ । यदि भण्डारीलाई पार्टीमै प्रतिस्पर्धाको वातावरण तयार भयो भने कोइरालाले जति प्रयास गरे पनि अर्को समीकरण बन्न सम्भव हुने छैन । तर, त्यसो भएन भने कांग्रेस र एमालेका असन्तुष्ट पक्षबीचको भेटघाट झन बाक्लो हुनेछ । त्यसमा घ्यु थप्न प्रचण्डसहितका विपक्षी नेताहरू तयार भएरै बसेका छन् ।



